होर्मुज संकटबीच मोदी–भान्स संवाद, रुसी तेल खरिदमा भारतमाथि अमेरिकी दबाब
काठमाडौं— मध्यपूर्वमा क्षेत्रीय तनाव बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच फोनवार्ता भएको छ । वार्तामा भारत–अमेरिकाबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मोदीले बताएका छन् ।
मोदीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत भान्ससँग फोनवार्ता भएको जानकारी दिँदै दुई देशबीचको ‘व्यापक वैश्विक रणनीतिक साझेदारी’लाई विभिन्न क्षेत्रमा थप गहिरो बनाउने उपायबारे छलफल भएको बताएका हुन् ।
फोनवार्ताका क्रममा मोदीले भान्स र उनकी पत्नी उषा भान्सलाई छोरा जन्मिएकोमा बधाईसमेत दिएका छन्। उनले भान्स परिवारको सुख, समृद्धि र स्वास्थ्यको कामना गरेको बताए ।
मोदी–भान्स संवाद यस्तो समयमा भएको हो, जतिबेला होर्मुजमा व्यावसायिक जहाजको आवतजावत र विश्वव्यापी ऊर्जा आपूर्तिलाई लिएर तनाव बढिरहेको छ ।
रुसी तेल खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म कर
यसैबीच, अमेरिकाले रुसी तेल तथा ग्यास खरिद गर्ने मुलुकमाथि थप आर्थिक दबाब सिर्जना गर्ने तयारी अघि बढाएको छ ।
अमेरिकी सिनेटले शुक्रबार ‘लिन्ड्से ओ ग्राहम सेन्क्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ नामक विधेयक ८६–११ मतले पारित गरेको छ ।
विधेयकले रुसी तेल वा प्राकृतिक ग्यासका प्रमुख खरिदकर्तामाथि आवश्यक परे १०० प्रतिशतसम्म अतिरिक्त भन्सार लगाउने अधिकार अमेरिकी राष्ट्रपतिलाई दिन सक्ने व्यवस्था गरेको छ ।
भारत र चीन रुसी कच्चा तेलका प्रमुख खरिदकर्तामध्ये रहेकाले विधेयक कार्यान्वयनमा आए भारतमाथि पनि अतिरिक्त अमेरिकी करको जोखिम बढ्न सक्छ ।