अग्रगामी मोर्चा घोषणा हुँदै, सातभन्दा बढी दल एकै ठाउँमा जुट्दै
काठमाडौं— विभिन्न मधेसकेन्द्रित तथा वैकल्पिक राजनीतिक दलहरूबीच (अग्रगामी मोर्चा) घोषणा हुदै।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाललगायत दलहरूको सहभागितामा मोर्चा घोषणा गर्न लागिएको हो ।
आज २३ गते काठमाडौंको थापागाउँमा कार्यक्रम आयोजना गरी मोर्चाको औपचारिक घोषणा गरिदैछ ।
विभिन्न राजनीतिक दलहरूबीच सहकार्य, साझा मुद्दा र आगामी राजनीतिक रणनीतिलाई केन्द्रमा राख्दै मोर्चा गठन गर्न लागिएको बताइएको छ । विशेषगरी संघीयता, समावेशिता, सुशासन, सामाजिक न्याय तथा उत्पीडित समुदायका अधिकारका विषयलाई साझा राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने तयारी रहेको जनाइएको छ ।
मोर्चा घोषणासँगै सहभागी दलहरूबीच आगामी दिनमा साझा राजनीतिक अभियान र कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत सहमति बन्न सक्ने बताइएको छ ।
हाल विभिन्न दल तथा समूहहरूबीच राजनीतिक ध्रुवीकरण र सहकार्यको बहस तीव्र भइरहेका बेला मधेस तथा पहिचानसँग जोडिएका दलहरू एकै मोर्चामा आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।