देशभर मनसुनी प्रणाली सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज (बिहीबार) कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल नेपालको तराई भूभाग नजिक, औसत अवस्थाभन्दा केही उत्तरतर्फ रहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको हो ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका अधिकांश पहाडी तथा तराई क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले विशेषगरी ८८बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र, कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने८८ जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।