उपसभामुख ठाकुरप्रति सुदन किराँती असन्तुष्ट,‘पार्टीको योगदानको अपमान गर्न पाइँदैन’
काठमाडौँ श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रुवीकुमारी ठाकुरको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टीको योगदान, सिद्धान्त तथा कार्यकर्ताको श्रम र त्यागलाई बेवास्ता गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।
पार्टीद्वारा आयोजित एक कार्यक्रममा बोल्दै किराँतीले पार्टीको समर्थनबाट मन्त्री, सांसद, उपसभामुखलगायतका जिम्मेवारीमा पुगेपछि पार्टीकै नीति, विचार र कार्यकर्तालाई उपेक्षा गर्ने प्रवृत्तिको आलोचना गरे। उनले सार्वजनिक पदमा पुगेका नेताहरूले पार्टीको मर्म, अनुशासन र जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
किराँतीले श्रम संस्कृति पार्टीकै बलमा मेयर, सांसद, मन्त्री तथा मुख्यमन्त्रीसम्म पुगेका नेताहरूले पार्टीको नीति र संगठनात्मक अनुशासनभित्र रहेर काम गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र स्वेच्छाचारिता स्वीकार्य नहुने उल्लेख गर्दै उनले विधि, पद्धति र अनुशासनबिना कुनै पनि राजनीतिक दल सुदृढ रूपमा अघि बढ्न नसक्ने धारणा राखे।
उनले पार्टीलाई आगामी दिनमा देशको पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्य रहेको पनि बताए। साथै, पार्टी अध्यक्ष हर्क साम्पाङलाई भविष्यमा प्रधानमन्त्री बनाउने उद्देश्यका साथ पार्टी अघि बढिरहेको दाबी गरे।