राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल
राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायत तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको छलफलमा तराई–मधेसमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
छलफलका क्रममा प्रथम राष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताउनुभएको थियो ।