नेपालले सोझै टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने – Nepalboli

नेपालले सोझै टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने

   २०८३ असार ३१, बुधबार  

नेपालले सन् २०२८ मा आयोजना हुने आईसिसी टी–२० विश्वकप सहभागिताको लागि सोझै ग्लोबल छनोट खेल्ने भएको छ । आईसिसीले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपालले सोझै ग्लोबल छनोट खेल्ने मौका पाएको हो । आईसिसीको अनुसार सन् २०२६ को विश्वकप खेलेका तर स्वतस् विश्वकपमा स्थान बनाउन नसकेका टोलीलाई सोझै ग्लोबल छनोटमा मौका दिने निर्णय गरिएको हो ।

नेपाल भारतमा केही महिनाअघि सम्पन्न टी–२० विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । आईसिसीले बाहिरिने टोलीलाई पनि सोझै ग्लोबल छनोट खेल्ने मौका दिएपछि नेपाललाई फाइदा भएको छ । अब नेपालले विश्वकपमा स्थान बनाउन एसियाली छनोट नखेली ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोटमा अघिल्लो विश्वकपबाट सिधै छनोट नभएका आठ र क्षेत्रीय छनोटबाट आउने आठ टोलीले प्रतिस्पर्धा गर्नेछन ।

आईसिसीले हालसम्म विश्वकपमा समूह चरणपछि ‘सुपर आठ’ लाई सोझै विश्वकप खेल्ने मौका दिएकोमा अब दुई टोली थपेर ‘सुपर १०’ लाई मौका दिने भएको छ । आईसिसीको स्कटल्यान्डमा सम्पन्न वार्षिक सम्मेलनले पुरुष टी–२० विश्वकपलाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन सहभागिताको फरम्याटमा केही परिवर्तन गरेको उल्लेख गरेको छ ।

सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले भाग लिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै