साउनदेखि ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिने
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन, भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गर्ने भएको छ । अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै ७५३ स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाले जारी गरेको पत्रअनुसार गत आर्थिक वर्ष सञ्चालन गरिएको अभियानबाट डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतनामा वृद्धि हुनुका साथै समुदायको सक्रिय सहभागितामार्फत सङ्क्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव परेको भन्दै यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको हो।
अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालन गरिने छ। सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
स्थानीय तहले वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी समुदायको सक्रिय सहभागितामा लामखुट्टेको प्रजननस्थल खोजी र नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य तथा गैरस्वास्थ्य क्षेत्रबीच बहुपक्षीय समन्वय र नियमित अन्तरक्रियालाई पनि प्राथमिकता दिइएको छ।
मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कसप, टायर तथा कवाडी सामग्री व्यवस्थापन स्थल, निर्माणाधीन भवन र पानी जम्ने अन्य स्थानको नियमित अनुगमन गरी पानीको निकास तथा व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
अभियानका क्रममा प्रत्येक वडामा पोस्टर, ब्यानर, समूह छलफल, अभिमुखीकरण तथा अन्य स्थानीय माध्यममार्फत डेङ्गु को जोखिम, रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
लामखुट्टेको प्रजननस्थल खोजी तथा नष्ट गर्ने विधिसहित स्वास्थ्य शिक्षा सामग्री वितरण र व्यापक प्रचारप्रसारसमेत गरिने मन्त्रालयले जनाएको छ।
त्यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेका रेडियो जिङ्गल तथा अन्य सन्देश स्थानीय एफएम र रेडियोमार्फत नियमित प्रसारण गरिने छ। स्वास्थ्य आमा समूह, युवा क्लब, शिक्षक, स्वयंसेवक, कलेज तथा विश्वविद्यालयका विद्यार्थीलाई समुदायमा स्वयंसेवकका रूपमा परिचालन गरी डेङ्गु नियन्त्रणका गतिविधिमा सहभागी गराइने भएको छ।
विद्यालयमा साथी शिक्षा कार्यक्रम, सरसफाइ अभियान, विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन, वक्तृत्वकला, हाजिरीजबाफ तथा चित्रकला प्रतियोगिताजस्ता कार्यक्रम सञ्चालन गरिने छ।
होटल, उद्योग तथा निजी क्षेत्रसँग सहकार्य गरी डिजिटल बोर्ड तथा अन्य सञ्चार माध्यमबाट डेङ्गुसम्बन्धी जनचेतना फैलाइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले ज्वरोसँगै शरीरमा बिमिरा देखिने, जोर्नी वा मांसपेशी दुख्ने, टाउको तथा आँखाको वरिपरि दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुनेजस्ता डेङ्गुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न वा निःशुल्क १११५ हेल्थ हेल्पलाइनमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।