एम्बापेका कीर्तिमान – Nepalboli

एम्बापेका कीर्तिमान

   २०८३ असार २७, शनिबार  

मोरक्कोविरुद्धको खेलमा गोल गरेपछि विश्वकप फुटबलमा फ्रान्सका स्ट्राइकर किलियन एम्बापेको गोल सङ्ख्या २० पुगेको छ । २७ वर्षीय एम्बापेले २० खेलमै यो कीर्तिमान हासिल गर्ने सबभन्दा कान्छो खेलाडी बन्नुभएको छ । मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा २० गोल पूरा गर्नुभएको थियो । विश्वकपमा सर्वाधिक सर्वकालीन गोलकर्ताको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीभन्दा एम्बापे मात्र एक गोलले पछाडि हुनुहुन्छ । यसै गरी यस विश्वकपमा गोल्डेन बुटको होडमा एम्बापे पुनः अगाडि हुनुभएको छ । मेसी र एम्बापेले समान आठरआठ गोल गर्नुभएको छ । यद्यपि बढी एसिस्टका कारण एम्बापे अगाडि हुनुहुन्छ ।

यस विश्वकपमा एम्बापे विश्वकपका दुई फरक संस्करण आठ वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बन्नुभएको छ । पछिल्लो संस्करणमा आठ गोलसहित उहाँले गोल्डेन बुट जित्नुभएको थियो । पछिल्लो विश्वकपको फाइनलमा एम्बापेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्नुभएको थियो । यसै गरी दुई फरक विश्वकपमा दोहोरो अङ्कमा एसिस्ट गर्ने पनि एम्बापे पनि पहिलो खेलाडी हुनुहुन्छ । पछिल्लो विश्वकपमा आठ गोल र दुई एसिस्ट गर्ने एम्बापेले यसपालि आठ गोल र तीन एसिस्ट गरिसक्नुभएको छ ।

एम्बापे नकआउट चरणमा सर्वाधिक १२ गोल गर्ने खेलाडी पनि हुनुहुन्छ । उहाँ पछाडि नकआउटमा सर्वाधिक गोलकर्ता ब्राजिलका लियोनिडास र रोनाल्डोले आठरआठ गोल गर्नुभएको छ । एम्बापेले फ्रान्सका लागि विश्वकपमा सर्वाधिक खेल (२०) खेल्ने ह्युगो लोरिसको कीर्तिमान पनि बराबरी गर्नुभएको छ । एम्बापे सेमिफाइनलपछि फ्रान्सका लागि सर्वाधिक विश्वकप खेल्ने खेलाडी बन्नुहुने छ । उहाँ फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुनुहुन्छ । उहाँले फ्रान्सका लागि १०४ खेलमा ६४ गोल गर्नुभएको छ । विश्वकपअघि उहाँ ओलिभर जिरुभन्दा पछाडि हुनुहुन्थ्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै