वैदेशिक रोजगार विभागमा एकै दिन २२ नयाँ मुद्दा दर्ता, ५० गुनासो फर्छ्योट – Nepalboli

वैदेशिक रोजगार विभागमा एकै दिन २२ नयाँ मुद्दा दर्ता, ५० गुनासो फर्छ्योट

   २०८३ असार २६, शुक्रबार  

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरीको अनुसन्धान, संस्थागत अनुगमन तथा गुनासो व्यवस्थापनलाई तीव्र बनाएको जनाएको छ। विभागले शुक्रबार सम्पन्न दैनिक कार्यसम्पादन विवरण सार्वजनिक गर्दै विभिन्न शाखाबाट भएका गतिविधिको जानकारी दिएको हो। विभागको मुद्दा तथा अनुसन्धान शाखाका अनुसार शुक्रबार दिउँसो ४ बजेसम्म २२ वटा नयाँ मुद्दा दर्ता भएका छन्। सोही अवधिमा १४ वटा मुद्दा मिलापत्रमार्फत टुंग्याइएको छ भने ८ जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको छ।

त्यस्तै, १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको विभागले जनाएको छ। थप ३५ जनालाई पक्राउ गर्न सम्बन्धित निकायबाट अनुमति लिइएको छ। अनुसन्धान प्रक्रियाका क्रममा बैंकलाई पठाइएका पत्र, अभियोग पत्र तथा राय पत्रसहित कुल १२६ वटा पत्राचारसमेत गरिएको विभागको विवरणमा उल्लेख छ।

संस्था अनुगमन शाखाले सोही दिन दुई वटा राहदानी वितरण गरेको तथा दुई वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई पत्राचार गरेको जनाएको छ। शाखामा दर्ता भएका ६ वटा उजुरीमध्ये पाँच वटाको टेलिफोनमार्फत समाधान गरिएको छ।

संस्था दर्ता शाखाले सात वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) सञ्चालन गर्ने संस्थाको नवीकरण गरेको छ। साथै, २२ वटा म्यानपावर कम्पनीको इजाजत पत्र नवीकरण गरिएको विभागले जनाएको छ।

गुनासो व्यवस्थापनतर्फ ‘हेलो सरकार’ प्रणालीमार्फत प्राप्त दुईमध्ये एउटा गुनासो समाधान भइसकेको छ भने अर्को अध्ययनकै क्रममा रहेको विभागले जनाएको छ। त्यसैगरी, कल सेन्टरमा दर्ता भएका ५१ वटा गुनासोमध्ये ५० वटाको समाधान गरिएको र एउटा गुनासो प्रक्रियामै रहेको विभागले जानकारी दिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै