गढीमाई नगरपालिका प्रमुख यादवसहित चार जनाविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
रौतहट गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध दुई करोड ५७ लाख ६२ हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवसहित गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणी कनस्ट्रक्सन कम्पनी प्रा।लि। बत्तीसपुतली, काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भइ कार्य गर्ने राधेश्याम साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगका अनुसार उनीहरुविरुद्ध आर्थिक वर्ष २०७६-७७ का लागि समनपुर नाकाको बालुवा, गिट्टी, ग्राभेल उत्खनन्, सङ्कलन, बिक्री तथा निकासी कार्यको आय ठेक्काको राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिमको भ्रष्टाचारजन्य कसुरमा बिगो रकम दुई करोड ५७ लाख ६२ हजार रुपियाँ कायम गरी कैद र बिगो रकमको दोब्बर जरिवाना सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।