भारत सरकारको सहयोगमा झापाको जन आदर्श माध्यमिक विद्यालय भवनको शिलान्यास – Nepalboli

भारत सरकारको सहयोगमा झापाको जन आदर्श माध्यमिक विद्यालय भवनको शिलान्यास

   २०८३ असार १८, बिहीबार  

भारत सरकारको आर्थिक सहयोगमा झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ। भवन निर्माणको शिलान्यास कोशी प्रदेश सभा सदस्य माननीय श्री राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर श्री मेगाहाङ्ग थोप्रा तथा काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव श्री गरिमा नौटियालले संयुक्त रूपमा गर्नुभयो।

करिब नेरु ३ करोड लागतमा निर्माण हुन लागेको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिनेछ। परियोजना शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन हुने जनाइएको छ।

शिलान्यास समारोहमा बोल्दै शिवसताक्षी नगरपालिकाका मेयरसहित स्थानीय सरोकारवालाहरूले शिक्षा क्षेत्रमा भारत सरकारले पुर्‍याउँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो। उहाँहरूले निर्माण हुने नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सुरक्षित सिकाइ वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यस अवसरमा भारत र नेपालबीच रहेको घनिष्ठ र बहुआयामिक सहकार्यलाई समेत स्मरण गरिएको थियो।

उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत शिक्षा लगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्दै नेपाल सरकारको विकास तथा समृद्धिको अभियानमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै