आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना – Nepalboli

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

   २०८३ असार १८, बिहीबार  

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने साधारणतया बादल लागेको छ । अहिले बागमती प्रदेशका केही स्थान, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

भोलि शुक्रबार हिमाली र पहाडी भूभागको केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । भोलि राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

पर्सी शनिबार हिमाली र पहाडी भूभागको केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ । पर्सी राति भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै