भेनेजुएलामा शक्तिशाली भूकम्पः १६४ जनाको मृत्यु, करिब एक हजार घाइते
भेनेजुएलामा लगातार दुई वटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै एक हजार व्यक्ति घाइते भएका छन् । विपद्का कारण देशमा ठुलो सङ्कट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गर्नुभएको छ ।
उहाँका अनुसार भूकम्पबाट ठुलो भौतिक क्षति पुगेका कारण काराकासस्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ ।
बुधबार साँझ गएका ७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्प भेनेजुएलामा एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ । यसको धक्का छिमेकी देशहरू ब्राजिल र कोलम्बियासम्म समेत महसुस गरिएको थियो ।
सरकारी टेलिभिजनले प्रसारण गरेका दृश्यमा ला गुआइरा राज्यको भग्नावशेषबाट धूलोले ढाकिएका तीन बालबालिकालाई जीवितै उद्धार गरिएको देखाइएको छ ।
कार्यवाहक राष्ट्रपति रोड्रिगेजले ला गुआइरा क्षेत्रलाई ‘विपद् क्षेत्र’ घोषणा गर्दै भवन भत्किएका कारण यो क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको जानकारी दिनुभयो । हाल प्रभावित क्षेत्रहरूमा सेना र उद्धारकर्मीहरू परिचालन गरी खोजी तथा उद्धार कार्यलाई तीव्र पारेको खबर अलजजिराले लेखेको छ ।