भारत सरकारको सहयोगमा निर्माण गरिएको मुस्ताङमा गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन
काठमाडौं — भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ गाउँपालिका–१ मा निर्माण गरिएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको नयाँ छात्रावास भवन उद्घाटन गरिएको छ। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ ले सोमबार संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन्।
उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको दुई तले छात्रावास भवनमा चार वटा ब्लक तथा अन्य आवश्यक संरचनाहरू समावेश छन्। परियोजना लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।
स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले बौद्ध शिक्षासँगै नेपाल सरकारको शैक्षिक प्रणालीअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। नयाँ छात्रावास भवन निर्माणसँगै विद्यालयको आवासीय सुविधा तथा समग्र शैक्षिक वातावरणमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत नवीन श्रीवास्तवले परियोजना सफलतापूर्वक सम्पन्न भएकोमा सरोकारवालाहरूलाई बधाई दिँदै साझा विकास र समृद्धिका लागि नेपाल सरकार तथा नेपाली जनतासँग सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना अघि बढाइसकेको जनाएको छ। तीमध्ये गण्डकी प्रदेशमा ६३ तथा मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजना सञ्चालनमा रहेका छन्।
त्यसैगरी भारत सरकारले विगतका वर्षहरूमा मुस्ताङ जिल्लाका विभिन्न संस्थालाई ११ वटा एम्बुलेन्स र ६ वटा विद्यालय बस उपलब्ध गराइसकेको छ। गण्डकी प्रदेशभर भने स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई १२६ वटा एम्बुलेन्स र ५२ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको छ।
