अब अर्थतन्त्रको बेथिति तोडिन्छ- अर्थमन्त्री डा वाग्ले – Nepalboli

अब अर्थतन्त्रको बेथिति तोडिन्छ- अर्थमन्त्री डा वाग्ले

   २०८३ जेष्ठ ३१, आईतवार  

काठमाडौ-  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका साथ अघि बढेको बताउनुभएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा वाग्लेले विगत १५ वर्षदेखि देशका विभिन्न अङ्गहरू निहित स्वार्थ समूहको कब्जामा रहेको दाबी गर्दै वर्तमान सरकार त्यसको अन्त्य गर्ने अभियानमा जुटेको बताउनुभयो । उहाँले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका कतिपय निकायसमेत त्यस्ता समूहको प्रभावमा परेको तथ्यहरू उजागर भइरहेको उल्लेख गर्नुभयो ।

नेपालको इतिहासकै सबैभन्दा ठुलो वित्तीय घोटालाको फाइल अहिले न्यायिक प्रक्रियामा रहेको जानकारी दिँदै अर्थमन्त्री डा। वाग्लेले भन्नुभयो, “एक खर्ब रुपियाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा प्रक्रियामा छ । विगतमा देशका जिम्मेवार व्यक्ति र निकायहरू कसरी प्रभावित भएका थिए भन्ने कुरा यसले प्रष्ट पार्छ । हामीले अहिले अर्थतन्त्र र प्रशासनमा देखिएका तमाम गडबडी सफा गर्ने अभियान (क्लिन अप दी मेस) सुरु गरेका छौँ ।”

अर्थमन्त्री डा। वाग्लेले स्वदेशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य चिरेर युवाहरूलाई देशभित्रै अवसर दिलाउन सरकारले काम गरिरहेको बताउनुभयो । युवाहरूलाई विदेशिनु नपर्ने वातावरण निर्माण गर्न नीतिगत सुधारका लागि सरकार सधैँ तयार रहेको उहाँको भनाइ थियो । मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन पाँच वर्षको स्पष्ट कार्ययोजना (रोडम्याप) सहित सरकार अघि बढिरहेको उहाँले दाबी गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै