गर्मीका कारण बाँकेका स्थानीय तहहरूका विद्यालयहरमा पाँच दिन बिदा दिने निर्णय – Nepalboli

गर्मीका कारण बाँकेका स्थानीय तहहरूका विद्यालयहरमा पाँच दिन बिदा दिने निर्णय

   २०८३ जेष्ठ २६, मंगलवार  

तातो हावा लु चलेर अत्यधिक गर्मी बढेपछि बाँकेका स्थानीय तहहरूले विद्यालयमा बिदा दिन थालेका छन् । सो क्रममा नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । कोहलपुर नगरपालिकाले यसअघि नै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तातो हावा लु र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगन्जमा जेठ २६ गते मङ्गलबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले दिनुभएको जानकारी अनुसार नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगन्जका सबै विद्यालय जेठ २६ गते मङ्गलबारदेखि ३१ गते आइतबारसम्म बन्द गर्ने निर्णय गरिएको हो ।

उहाँले अत्यधिक गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि एक साताको लागि सबै विद्यालय बन्द गर्न सूचना प्रकाशित गरिएको बताउनुभयो । सोही प्रकारले खजुरा गाउँपालिकाको शिक्षा शाखाले पनि मङ्गलबार एक सूचना प्रकाशित गरेर जेठ २७ गते बुधबारदेखि जेठ ३१ गते आइतबारसम्म बिदा दिइएको जनाएको छ ।

खजुरा गाउँपालिकाको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेकोले पाँच दिन बिदा गरिएको बताउनुभयो ।

सोही प्रकारले कोहलपुर नगरपालिकाले भने यसअघि नै मङ्गलबारबाटै लागु हुनेगरी तीन दिन बिदा दिइसकेको छ । मौसमको अबस्था हेरेर गर्मी बिदा लम्बिन सक्ने पनि स्थानीय तहहरूले जनाएका छन् ।

गर्मी बढ्दै गएकाले जिल्लाका अन्य पालिकाहरूले पनि बिदा दिने तयारी गरेका छन् । यसअघि बालबालिकाहरूको स्वास्थ्यलाई ध्यान दिएर केहि दिन विद्यालय बन्द गर्नुपर्ने अभिभावकहरूले माग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै