ऊर्जा सङ्कटले विश्व अर्थतन्त्रमा चुनौती, पेट्रोलको मूल्य अत्यधिक बढ्यो – Nepalboli

ऊर्जा सङ्कटले विश्व अर्थतन्त्रमा चुनौती, पेट्रोलको मूल्य अत्यधिक बढ्यो

   २०८३ बैशाख २३, बुधबार  

न्यूयोर्क-  इरानसँगको युद्ध सुरु भएपछि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिकरूपमा बढेको छ । पछिल्लो विवरण अनुसार पेट्रोलको मूल्य करिब ५० प्रतिशतले वृद्धि भएको छ भने मात्र एक हप्ताको अवधिमा प्रति ग्यालोन ३१ सेन्टले बढेर औसत ४.४८ डलर पुगेको छ ।

यसले दैनिक जीवनयापन र यातायात खर्चमा ठुलो असर पारेको छ । विशेषज्ञका अनुसार मूल्य वृद्धिको मुख्य कारण विश्वव्यापी ऊर्जा सङ्कट हो, जसमा कच्चा तेलको आपूर्ति र वितरण प्रणाली गम्भीर रूपमा प्रभावित भएको छ । फारस खाडीस्थित महत्त्वपूर्ण समुद्री मार्ग हर्मुज जलडमरूमा उत्पन्न तनावका कारण तेल ट्याङ्कर आवागमन गर्न नसक्दा आपूर्ति श्रृङ्खला अवरुद्ध भएको छ ।

विश्वको करिब एक-पाँचौँ कच्चा तेल यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यहाँको अवरोधले विश्वभर प्रभाव पारेको हो । यसअघि अप्रिल महिनामा युद्ध केही शान्त हुने सङ्केत देखिँदा बजारमा आशावाद फैलिएको थियो र पेट्रोलको मूल्य केही समयका लागि घटेको पनि थियो । तर द्वन्द्व पुनः तीव्र भएपछि कच्चा तेलको मूल्य फेरि बढ्न थालेको र त्यसको प्रत्यक्ष असर पेट्रोल पम्पसम्म पुगेको हो ।

विश्लेषकले यो अवस्था लामो समयसम्म जारी रहेमा मुद्रास्फीति अझ बढ्ने, ढुवानी लागत महँगिने र विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना हुने चेतावनी दिएका छन् । उपभोक्ताले इन्धन खर्च बढ्दा अन्य वस्तु तथा सेवामा पनि मूल्य वृद्धि अनुभव गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै