मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रको सार्वजनिक जग्गा खाली
काठमाडौ- काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौँदेखि ओगटिएको सार्वजनिक जग्गा खाली गराउने काम सम्पन्न भएको छ । काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाइएपछि सो क्षेत्र अहिले सुनसान बनेको छ ।
नेपाल प्रहरीका अनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी जम्मा ९४१ घरटहरा भत्काइएको छ । सरकारी जग्गा संरक्षण अभियान अन्तर्गत सञ्चालन गरिएको यस कार्यबाट ठुलो सङ्ख्यामा सुकुमवासी प्रभावित भएका छन्।
स्थानीय प्रशासनले नदी किनारको कोरिडोरलाई व्यवस्थित बनाउन तथा बागमती र मनोहरा नदीको स्वच्छता कायम राख्न यो कदम चालिएको जनाएको छ । यद्यपि विस्थापित परिवारले भने उचित विकल्पबिना नै आफूहरूको उठिबास लगाइएको भन्दै गुनासो गरेका छन् ।