चैती छठ- अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
चैती छठ पर्वको तेस्रो दिन मङ्गलवार साँझ अस्ताउँदो सूर्यलाई पूजापाठसहित सँझिया अर्घ्य दिइएको छ । कात्तिकमा मनाइने मुख्य छठझैँ विधि विधान रहेको यस पर्वमा व्रतालुले जलाशयमा सजिएका पूजा सामग्रीसहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
तराई क्षेत्रमा मनाइने चैती छठ आइतबार नहाय–खाय बाट विधिवत् रूपमा सुरु भएको हो । सोमबार खरनाु पूजा गरी तेस्रो दिन मङ्गलवार मुख्य पूजाका रूपमा रहेको सँझिया अर्घ्य दिइएको छ । ठेकुवा, भुसवा लगायतका विभिन्न परिकार एवं फलफूलसहित पवित्र जलाशय, पोखरी, नदी र तलाउमा पुगेर व्रतालुहरूले अस्ताउँदो सूर्यको आराधना गरेका छन् ।
विशेष गरी मनोकामना पूर्ण भएकाहरूले यो पर्व मनाउने गर्दछन् । मङ्गलवार रातभरि घाटमै जाग्राम बसी बुधबार सप्तमीको दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । अस्ताउँदो सूर्यलाई पूजा गर्ने परम्परा छ ।