आमाको नामबाट तीन हजारले लिए नागरिकता – Nepalboli

आमाको नामबाट तीन हजारले लिए नागरिकता

   २०८२ चैत्र १०, मंगलवार  

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख सुरेश पन्थीका अनुसार, नयाँ नियमावली कार्यान्वयनमा आएयता हालसम्म देशभरका विभिन्न जिल्लाबाट २ हजार ९४८ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेको छ।

गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो। यस संशोधनले वर्षौँदेखि नागरिकताबाट वञ्चित भएका नेपाली नागरिकका सन्तानलाई पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको देखिएको छ।

नेपाल नागरिकता नियमावली, २०६३ लाई चौथो पटक परिमार्जन गर्दै प्रशासनले केही महत्त्वपूर्ण नियम र अनुसूचीहरूमा हेरफेर गरेको थियो । संशोधित नियमावलीले विशेषगरी बाबुको ठेगाना नभएका वा बाबुको पहिचान हुन नसकेका व्यक्तिका लागि सहज बाटो खोलेको छ । जसको आधारमा आमाको नामवाट नागरिकता दिन सहज भएको हो ।

यसअघि वैवाहिक अङ्गीकृत बाहेकका अन्य अङ्गीकृत नागरिकताका लागि गृह मन्त्रालयको निर्णय कुर्नुपर्ने झन्झटिलो व्यवस्था थियो। तर नयाँ नियमावलीले उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई सुम्पिएको छ। यसले गर्दा स्थानीय तहमै नागरिकता वितरण प्रक्रिया छिटो र प्रभावकारी बनेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै