रामेछाप बस दुर्घटना मृतकको सङ्ख्या १२ पुग्यो
रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिनुभयो । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख। ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।
रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ ।