गगन थापाको उम्मेदवारीले उत्साहित मधेस
सर्लाही । सर्लाही धनकौलका रामप्रवेश चौधरी आगामी फागुन २१ गते हुने निर्वाचनको माहोल विगतको भन्दा भिन्न रहेको बताउँछन् । चौधरीले अहिले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका कारण सर्लाही ४ सहित पूरै मधेसकै वातावरण फरक देखिएको दाबी गरे । अरु बेला पनि कांग्रेससहित अन्य पार्टीका कारण निर्वाचनले माहोल बनाउने भए पनि यो पटक कांग्रेस सभापति थापा आफैँ सर्लाहीमा उम्मेदवार बनेर आएपछि अर्को वातावरण देखिएको चौधरीको भनाइ छ ।
कांग्रेसमा सभापति नहुँदै पनि गगन थापा प्रतिको समाजका एउटौ छुट्टै खालको क्रेज थियो, चौधरी भन्छन्, अहिले त झनै यत्रो आँट गरेर विशेष महाधिवेशन गरेर सभापति बनेर आउनु भएको छ । यसले उहाँप्रतिको विश्वास झनै समाजमा बढेको चौधरीको भनाइ छ । उनले अहिले मधेसभर नै गगन थापाको ह्विम फैलिएको बताउँछन् । यसले गगनको लोकप्रियता बढेको देखाउँछ ।
सर्लाही ४ मा थापा उम्मेदवार बनेर पहिलो चरणको प्रचार सकाएर काठमाडौँ फर्किइसकेका छन् । सर्लाहीको धनकौल, रामनगर, बलरा, बरहथवा, विष्णु र बसबरिया जस्ता स्थानीय तहहरू यो क्षेत्रमा पर्छन् । थापा पहिलो चरणमा चार दिन त्यहाँ बसेर सबै वडाका स्थानीय अगुवा नेताहरूसँग छलफल गर्नुको साथै १२ भन्दा बढी कोण सभा र घरदैलो कार्यक्रम गरेका थिए ।
रामनगरका विजय यादवले सभापति थापा आफैँ क्षेत्रमा आएपछि नागरिक तहमै उत्साह देखिएको दाबी गर्छन् । यो भन्दा पहिलो उहाँको बारेमा सुनिएको मात्र थियोु, यादव भन्छन्, तर अहिले उहाँसँगै अन्तर्क्रियाहरू भएपछि उहाँप्रति अलगै खालको आस्था बढेर आएको छ । अहिले कांग्रेसमात्र होइन, पूरै निर्वाचन क्षेत्रको सबै तप्का गगन थापाप्रति सकारात्मक देखिएको अवस्था छ ।
थापा उम्मेदवार बनेर आएपछि यहाँ अहिले सम्पर्क कार्यालय खोलिएको छ । उनले आफ्नो प्रचारको क्रममा अब यहाँ संसदीय सम्पर्क कार्यालय पनि निरन्तर चल्ने बताएका छन् । जुन यहाँका नागरिकहरूका लागि नालौ देखिन्छ । यस भन्दा पहिला नेताहरूसँग भेट्न उनीहरूको घर धाएका नागरिकहरू अब संसदीय कार्यालयमार्फत गुनासा तथा कामहरूका बारेमा आफ्ना सांसदलाई भन्न पाउँछु भन्नेमा गर्व गर्न थालेका छन् ।
त्योसँगै थापा निर्वाचित नहुँदै अहिलेदेखि नै त्यहाँका नागरिकको समस्याको बारेमा विभिन्न टोलीहरूले स्थलगत अध्ययनहरू गर्न थालेका छन् । जसले स्थानीय समस्याहरू सल्टाउन थापाले अग्रसरता देखाएको विश्वास समाजमा देखिएको छ ।
बसबरियाका विष्णु ठाकुर यसअघि कुनै पनि यहाँका संसदले यसरी व्यवस्थित तरिकाले कामहरू थालेको आफूहरूले नदेखेको बताउँछन् । गगन थापाको बारेमा हामीले सुनेका मात्रै थियौँ, ठाकुर भन्छन्, उहाँ त्यत्तिकै यति कम उमेरमा यो राजनीतिक उचाइ पाउनु भएको होइन । ठाकुरले निर्वाचन क्षेत्र बारेमा कांग्रेस सभापति थापाले सर्लाहीमा आएर गरेको संवादले नागरिकहरूमा उत्साह मात्रै नभएर हौसिएको अवस्था सिर्जना भएको बताउँछन् ।
सर्लाही ४ कांग्रेसको परम्परागत गढ
हुनत सर्लाही ४ लाई कांग्रेसको परम्परागत गढ नै मानिन्छ । २०४८ देखि २०५६ सम्म भएका तीन ओटा निर्वाचन जितेका महन्थ ठाकुरले नेपाली कांग्रेस छाडेसँगै यो क्षेत्रमा अमरेशकुमार सिंह लड्दै आएका थिए । उनले २०७० र २०७४ को निर्वाचन कांग्रेसबाट जितेका हुन् भने २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।
२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा सर्लाही–४ बाट तत्कालीन मधेसी जनअधिकार फोरमका शिवपुजन राय विजयी भएका थिए । २०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र सहितको गठबन्धनबाट कांग्रेसका नागेन्द्रकुमार उम्मेदवार बनेका थिए । नागेन्द्रले १८ हजार २ सय ५३ मत ल्याउँदा सिंह २० हजार १७ मत ल्याएर विजयी भए ।
तत्कालीन गठबन्धनमै रहे पनि माओवादीका शिवपुजन रायले आफ्नी छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । यादवले १४ हजार ६ सय २२ मत ल्याएकी थिइन् । उनै शिवपूजनका छोरा अमनिस यादव अहिले एमाले उम्मेदवार बनेका छन् । चौथोमा रहेका जनता समाजवादी पार्टीका उम्मेदवार राकेश मिश्रले ५ हजार ८ सय १३ मत मात्र पाएका थिए ।
समानुपातिकतर्फ भने कांग्रेस पहिलो भएको थियो । कांग्रेसले १६ हजार २८ मत ल्याउँदा जनमत पार्टीले १२ हजार ५ सय मत पाएको थियो । जबकि जनमत पार्टीका प्रत्यक्ष उम्मेदवार रामबाबु रायले ३ हजार ४ सय मत मात्र ल्याएका थिए ।
यो क्षेत्रमा समानुपातिकतर्फ माओवादीले तेस्रो धेरै मत पाएको थियो। उसले ९ हजार ७ सय मत ल्याउँदै गर्दा एमालेले ९ हजार ४ सय ७१ मत ल्याएको थियो । यहाँ सबभन्दा धेरै वडा पनि नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले १९ वडा जित्दा माओवादी केन्द्रले १२ ओटा वडा जितेको थियो । त्यस्तै एमालेले १०, लोसपाले ८ र जसपाले २ ओटा वडा जितेको थियो ।
यी पार्टीका वडाध्यक्षहरूले पाएको मतमा पनि कांग्रेसकै धेरै छ । कांग्रेसका वडाध्यक्षहरूले पाएको मत २३ हजार १ सय ४३ छ । वडाध्यक्षहरूको मतमा माओवादी केन्द्र दोस्रो छ । उसले १८ हजार ५ सय २४ मत पाएको थियो । वडामा लोसपाका उम्मेदवारहरूले पाएको मत जोड्दा १४ हजार २ सय २७ हुन्छ । त्यस्तै एमालेका वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत ११ हजार ४ सय ७९ थियो। जसपाले पाएको मत ६ हजार ७ सय ८६ छ ।
यसरी नेपाली कांग्रेसको मतको हिसाबले बलियो नै देखिएको सर्लाही ४ मा कांग्रेस सभापति थापालाई निर्वाचन जित्न खासै समस्या छैन । उहाँ यहाँबाटै सजिलै निर्वाचित भएर जाने अवस्था देखिन्छु, स्थानीय शिक्षक सुदर्शन मिश्र भन्छन्, उहाँ यहाँ उम्मेदवार नै बनेर आएपछि सर्लाहीसहित मधेसभर नै नागरिक तप्कामा उत्साह देखिएको छ ।
शिक्षक मिश्रकै भनाइमा भन्ने हो भने मधेसभरि नै अहिले गगन धुन फैलिरहेको छ ।
हुनत कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेसँगै उनीप्रतिको क्रेजु ह्वात्तै बढेको छ । उनी मधेसमा मात्र होइन देशैभर चर्चामा छन् । उनकै योजनाअनुसार कांग्रेस चुनावमा होमिएको छ । आफ्नो सहज काठमाडौँ क्षेत्र नम्बर ४ छाडेर तराई झर्नुले गगन जहाँ पनि लोकप्रिय छन् भन्ने बुझाउँछ ।

