सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति – Nepalboli

सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति

   २०८२ माघ १७, शनिबार  

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक सेवा प्रसारण संस्थाले नयाँ प्रविधि, ‘डिजिटल प्लेटफर्म’ र बढ्दो जनअपेक्षालाई आत्मसात् गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउन आवश्यक रहको बताउनुभएको छ।

सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा उहाँले डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुति र प्रविधिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको बताउनुभयो।

“परम्परागत रेडियो वा टेलिभिजनमा सीमित नभई डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्‍याउने अवसर पनि हो”, उपराष्ट्रपति यादवले भन्नुभयो, “सरकारी सञ्चारमाध्यमको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक, शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने हो।”

नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक विविधता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्धनमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, “हामी सबै मिलेर सार्वजनिक सेवा प्रसारणलाई अझ सबल, प्रभावकारी र जनमुखी बनाउन योगदान गरौँ। ” उहाँले राष्ट्रको आवाजलाई विश्वभर पुर्‍याउने, नागरिकलाई सशक्त बनाउने र समृद्ध नेपाल निर्माणमा सहायक बन्ने सामूहिक जिम्मेवारी पूरा गर्न आह्वान गर्नुभयो।

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको जनाउँदै उपराष्ट्रपतिले समाजमा सत्यतथ्य, निष्पक्षता र जनताको आवाजलाई उजागर गर्ने जिम्मेवारी पत्रकारिताले गर्दै आएको बताउनुभयो। “पत्रकारितामा समावेशिता, समान अवसर र सबैको आवाजको प्रतिनिधित्व हुनु लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको आधारभूत सर्त हुन”, उहाँले भन्नुभयो, “कुनै पनि समुदाय वा नागरिकको आवाज उपेक्षित हुनु लोकतन्त्रको आत्मालाई कमजोर बनाउने कार्य हो। त्यसैले पत्रकारिता सबै वर्ग, भाषा, संस्कृति र भौगोलिक क्षेत्रलाई समान अवसरसहित प्रतिनिधित्व गर्ने माध्यम बन्नुपर्छ।”

अर्को प्रसङ्गमा उपराष्ट्रपति यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गरिनुपर्ने बताउनुभयो। “यसका लागि सञ्चारमाध्यमको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्छ”, उहाँले भन्नुभयो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै