नेपाली कांग्रेसमा गगन थापाको उदय- बदल्यौं कांग्रेस, बदल्छौं देश – Nepalboli

नेपाली कांग्रेसमा गगन थापाको उदय- बदल्यौं कांग्रेस, बदल्छौं देश

   २०८२ माघ ९, शुक्रबार  

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति पदको कार्यभार सम्हाले लगत्तै उहाँले यस्तो बताउनुभएको हो । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ उहाँले भन्नुभएको छ, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी । हाम्रो केवल एक ध्येय छ–देशको सम्मुन्नति ।’

त्यसैगरी कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा चुनावमा जाने निर्णयसमेत गरेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति गगनकुमार थापालाई पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गर्नुभएको प्रस्ताव केन्द्रीय समितिले पारित गरेको हो ।

विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेपछि पार्टी सभापतिसहितका पदाधिकारीले शुक्रबार पदबहाली गरेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यको पदबहालीपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो ।

विद्यार्थी राजनीतिबाट केन्द्रीय नेतृत्वसम्म

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा उदाउनुभएका थापा नेपाली राजनीतिको प्रभावशाली युवा नेतामध्ये एकका रूपमा परिचित हुनुहुन्छ । युवा पुस्तामाझ लोकप्रिय छवि बनाउन सफल थापाको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट प्रारम्भ भएको हो ।

मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापाका छोरा गगनकुमार थापाको जन्म २०३३ सालमा काठमाडौंमा भएको हो । सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका थापाको प्रारम्भिक चाहना डाक्टर वा इन्जिनियर बन्ने थियो । तर कक्षा ९ मा अध्ययनरत रहँदा २०४६ सालको जनआन्दोलनले उहाँलाई राजनीतिप्रति आकर्षित गर्‍यो ।

त्रिचन्द्र क्याम्पसमा अध्ययन थालेसँगै उहाँ विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । नेविसङ्घको सदस्य बनेका थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि विद्यार्थी राजनीतिमा उहाँको सक्रियता अझै बढ्दै गयो ।

स्ववियुमा सदस्य सचिव हुँदै सभापति बन्नुभएका थापा २०५५ सालमा स्ववियु सभापतिमा निर्वाचित भएपछि नेविसङ्घको केन्द्रीय राजनीतिमा प्रवेश गर्नुभयो । नेविसङ्घको उपाध्यक्ष र महामन्त्री हुँदै उहाँले सङ्गठनभित्र महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । यही कालखण्डमा विभिन्न आन्दोलनका क्रममा पटक–पटक हिरासतमा पर्नुभएका उहाँ राजनीतिक सङ्घर्षका अनुभवी पात्र बन्नुभयो ।

आन्दोलन, सङ्घर्ष र राष्ट्रिय राजनीतिमा उदय

विसं २०५९ असोज १८ पछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको सरकारद्वारा थापासहित विद्यार्थी नेता गुरुराज घिमिरे र पुरुषोत्तम पौडेलमाथि राजकाज मुद्दा लगाइएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको माघ १९ को कदमपछि पनि उहाँमाथि राजद्रोहसम्बन्धी मुद्दा लगाइयो ।

त्यसपछिको लोकतान्त्रिक आन्दोलनमा प्रखर वक्ताका रूपमा उहाँको प्रभाव व्यापक रह्यो । आन्दोलनका क्रममा उहाँको भाषण शैली र स्पष्ट विचारले आम नागरिक र राजनीतिक वृत्तमा विशेष ध्यान खिच्यो ।

नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य बनेपछि उहाँ १३ औँ महाधिवेशनबाट महामन्त्री पदमा विजयी हुनुभयो । साथै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रूपमा काम गर्दै केन्द्रीय शासन प्रणालीको अनुभवसमेत उहाँले प्राप्त गर्नुभएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै