हुस्सुले ढाक्यो तराईका अधिकांश स्थान- काठमाडौँमा अधिकतम तापक्रम घट्यो, न्यूनतम बढ्यो – Nepalboli

हुस्सुले ढाक्यो तराईका अधिकांश स्थान- काठमाडौँमा अधिकतम तापक्रम घट्यो, न्यूनतम बढ्यो

   २०८२ पुष ७, सोमबार  

सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली छ भने तराईका धेरै स्थानमा हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले आज साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

मौसम महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ।

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ। तथापि तापक्रम थोरै घटबढ भइरहन्छ। यसै क्रममा आज सोमबार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम बढ्दा अधिकतम तापक्रम भने घटेको छ। मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस छ। हिजो आइतबार भने ५.५ डिग्री सेल्सियस थियो। उपत्यकामा हिजोभन्दा आज न्यूनतम तापक्रम थोरै बढेको हो ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।

तर उपत्यकाको अधिकतम तापक्रम भने आइतबारको तुलनामा सोमबार घटेको छ। मौसम महाशाखाको विवरणअनुसार आइतबार १८.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम सोमबार आज १८.० डिग्री सेल्सियसमा झरेको छ।

मौसमविद्का अनुसार दिउँसो घाम देखियो भने अधिकतम तापक्रम बढ्छ भने दिनभर घाम लागेन वा कम देखियो भने भने घट्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै