भारतीय सहयोगमा निर्मित आधारभूत विद्यालय भवनको संखुवासभामा उद्घाटन
भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका संखुवासभा जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्र्तगतको विद्यालय भवनको विहिवार उद्घाटन गरिएको छ । कोशी प्रदेशको संखुवासभा जिल्लाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको उद्घाटन विहिवार काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष श्री पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा गरेका छन ।
विद्यालय भवन र अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र यसको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको थियो ।
सन् १९६२ मा संखुवासभा जिल्लामा स्थापना भएको श्री दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुन्छ । चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहायोगको प्रशंसा गर्नुभयो । वहाँहरुले नयाँ पूर्वाधारले यहाँको सिकाइको वातावरणमा सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
