प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबिच फोनवार्ता
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबिचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुभएको थियो । साथै उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराउनुभएको थियो ।
यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्नुभएको थियो । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताउनुभएको थियो ।
छिमेकी दुई देशका सरकार प्रमुखहरूबिच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतका प्रधानमन्त्री मोदीले शुक्रबार नेपालले मनाउने संविधान दिवसको शुभकामना समेत दिनुभएको छ । कार्कीसँगको फोनवार्तापछि सामाजिक सञ्जालमा लेख्दै उहाँले शुभकामना दिएको जानकारी गराउनुभएको हो ।
अमेरिकी राजदूतको भेटवार्ता
नवनियुक्त प्रधानमन्त्री कार्कीसँग आजै नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरू बिच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चिनियाँ राजदूतको पनि आजै भेटवार्ता
प्रधानमन्त्री कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले पनि आजै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ठ रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा तत्परतासहित चीन सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै अन्य नाकाबाट पनि आवतजावत सहजीकरणका लागि आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल र चीनबिचमा रहिआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
चीन–नेपालबीच भएका सम्झौता, सहयोग र सहकार्यले निरन्तरता पाउने स्पष्ट गर्दै उहाँले दुवै देश र जनताका हितमा काम गर्न चीन सदैव तयार रहेको बताउनुभयो ।