६ अर्ब ५७ करोड भारतीय लगानीमा जनकपुरमा खाद्य तेल उद्योग खुल्दै – Nepalboli

६ अर्ब ५७ करोड भारतीय लगानीमा जनकपुरमा खाद्य तेल उद्योग खुल्दै

   २०८२ असार २५, बुधबार  

मधेश प्रदेशको राजधानी जनकपुरमा साढे ६ अर्ब ५७ करोड ४९ लाख रुपैयाँबराबर विदेशी लगानीमा खाद्य तेल उद्योग खोलिने भएको छ। भटमासको प्रशोधित तेलको निर्यात तीव्ररूपमा बढिरहेको अवस्थामा यो उद्योग खुल्न लागेको छ । लगानी बोर्डको ६४औँ बैठकले भारतको विनायक आयल इन्डस्ट्रिजुलाई जनकपुरमा उद्योग स्थापना गर्न स्वीकृति दिइसकेको छ।

बोर्डका अनुसार उद्योग नेपाली व्यवसायी टिबडेवाला समूहसँगको साझेदारीमा सञ्चालन हुनेछ। प्रस्तावित उद्योगमा बहुमत स्वामित्व भारतीय कम्पनी विनायक आयल एन्ड फ्याट्स प्रालिको रहने गरी प्रस्ताव पेस भएको थियो । उद्योगमा विनायक आयलको ६७ प्रतिशत र नेपाली पक्ष टिबडेवालाको ३३ प्रतिशत स्वामित्व रहने गरी लगानी संरचनाको प्रस्वात बोर्डमा पेस भएको छ। उद्योग स्थापना गर्न दुबै पक्षबीच आपसी समझदारी (एमओयू) पनि भइसकेको छ।

नेपालले पछिल्लो समय खाद्य तेल उत्पादनका लागि आवश्यक कच्चा भटमासको तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड र युक्रेनजस्ता मुलुकबाट आयात गर्दै आएको छ। नेपालमै प्रशोधन गरिएका तेलका अधिकांश उत्पादन भारतमा निर्यात हुने गरेका छन्।

चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो ११ महिनामा नेपालको कुल निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको छ भने कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले बढेको छ। यस निर्यात वृद्धिमा भटमासको तेलको भूमिका अत्यन्त महत्वपूर्ण देखिएको छ। सो अवधिमा मात्र ९३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी मूल्यबराबरको भटमासको प्रशोधित तेल भारत पठाइएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै १ सय ७ गुणा बढी हो।

उद्योग स्थापनासँगै नेपालमै खाद्य तेलको प्रशोधन गरिनेछ र विभिन्न उत्पादन बजारमा ल्याइने जनाइएको छ। प्रारम्भिक योजनाअनुसार कोलकत्तामा आधारित टिबडेवाल समूहले जनकपुर ईकाइमार्फत प्रत्यक्ष लगानी भित्र्याउनेछ। पूर्वाधार निर्माण, मेसिनरी जडान र उत्पादन सुरू गर्ने प्रक्रिया चाँडै अघि बढाइने तयारी लगानीकर्ताले गरेका छन्।

नेपाल-भारत वाणिज्य सन्धीअनुसार नेपालबाट भारतमा निर्यात हुने प्रशोधित वस्तुमा भन्सार छुटको व्यवस्था छ, तर त्यसका लागि कच्चा पदार्थमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि देखिनु आवश्यक हुन्छ। भारतले सन् २०२४ सेप्टेम्बरमा अन्य मुलुकबाट आयात हुने तेलमा भन्सार महसुल २० प्रतिशत बिन्दुले बढाएपछि नेपालले तुलनात्मक लाभ लिन थालेको हो।

भन्सार छुटको यही सुविधा लिएर प्रशोधन उद्योगहरूले उत्पादनमा पर्याप्त मूल्य अभिवृद्धि देखाइ भारतमा निर्यात गरिरहेका छन्। यसले नेपालमा खाद्य तेल प्रशोधन उद्योगको विस्तारलाई गति दिएको छ। अब जनकपुरमा स्थापना हुने उद्योगले उक्त प्रवृत्तिलाई संस्थागत बनाउँदै निर्यातमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि सानासाना उद्योगमा थोरै लगानी भइरहेका थिए अब यो भने ठूलो लगानी भएकोले स्थिर हुने अनुमान बोर्डले गरेको छ। यस परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै तेल आयातमा निर्भरता घटाउने र व्यापार घाटा न्यूनीकरणतर्फ टेवा पुर्‍याउने गरी प्रस्ताव पेश गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै