नर्वेको ऐतिहासिक निर्णय- वातावरणीय संरक्षणतर्फ महत्वाकांक्षी कदम – Nepalboli

नर्वेको ऐतिहासिक निर्णय- वातावरणीय संरक्षणतर्फ महत्वाकांक्षी कदम

   २०८२ असार १३, शुक्रबार  

नर्वे सरकारले सन् १९९० को तुलनामा सन् २०३५ सम्ममा हरितगृह ग्यास उत्सर्जन ७० देखि ७५ प्रतिशतसम्म घटाउने उद्देश्यसहितको नयाँ र महत्वाकांक्षी जलवायु लक्ष्य घोषणा गरेको छ । यो प्रतिबद्धता बिहीबार सार्वजनिक गरिएको अद्यावधिक ‘राष्ट्रियरूपमा निर्धारण गरिएको योगदान’ अन्तर्गत प्रस्तुत गरिएको हो ।

नर्वेका जलवायु तथा वातावरण मन्त्री माननीय आन्द्रेयास ब्जेलान्द एरिक्सनज्यूले यस लक्ष्यलाई अत्यन्त महत्वका साथ प्रस्तुत गर्दै भन्नुभयो, “आज हामीले पेरिस जलवायु सम्झौताअन्तर्गत नर्वेले गरेको प्रतिबद्धता पूरा गरेका छौँ भन्नेमा म अत्यन्त सन्तुष्ट छु । यो सम्पूर्ण देशका लागि गर्वको कुरा हो ।”

उक्त लक्ष्य यसै महिना नर्वेको संसदबाट पारित गरिएको हो। पेरिस सम्झौताको प्रावधानअनुसार, सहभागी राष्ट्रहरूले हरेक पाँच वर्षमा आफ्नो जलवायु सम्बन्धी प्रतिबद्धता थप मजबुत बनाउँदै लैजानुपर्छ । मन्त्रीज्यूले थप जानकारी दिँदै भन्नुभयो, “पेरिस सम्झौता लागू हुनु अघि विश्व तापक्रम झन्डै ४ डिग्री सेल्सियसले वृद्धि हुने प्रक्षेपण गरिएको थियो। तर हालको विश्लेषणअनुसार हालका प्रतिबद्धताहरूले यो वृद्धिलाई करिब २.६ डिग्रीमा सीमित राख्ने सम्भावना देखिएको छ । यसले पेरिस सम्झौता प्रभावकारी भइरहेको पुष्टि गर्दछ ।

जब देशहरूले अझ कडा प्रतिबद्धताहरू ल्याउँदैछन्, हामी विश्व तापक्रम वृद्धिलाई १.५ डिग्रीभित्र सीमित राख्न थप नजिक पुग्न सक्छौँ । नर्वे सरकारले यस लक्ष्यलाई हासिल गर्न देशभित्र उत्सर्जन कटौतीका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै युरोपेली संघसँग सहकार्य गर्ने योजना बनाएको छ । मन्त्रीज्यूले अन्त्यमा भन्नुभयो, “नर्वेले यस्ता लक्ष्यहरू निर्धारण गर्नुपर्दछ जसले वातावरण संरक्षणका साथै रोजगारी सिर्जना गर्ने, हरित प्रविधिको विकास गर्ने र दीर्घकालीन प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने कार्यमा समेत टेवा पुर्याओस् ।”

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै