थारू समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने
थारू समुदायले पुस २९ र माघ १ गते काठमाडौँको टुँडिखेलमा थारू राष्ट्रिय माघी (माघ) महोत्सव मनाउने भएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।
‘२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौँ,’ उनले भन,‘थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौँ । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौँ भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौँ ।’
उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यसवर्ष ‘थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नाराका साथ माघी पर्व मनाउन लागिएको हो ।