मधेस केन्द्रित दलहरुका नेताहरूद्धारा आपसी मोर्चाबन्दी र एकतामा जोड
मधेसी दलका नेताहरूले मधेसी दलको बिचमा मोर्चाबन्दी तथा एकता र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन । शनिबार काठमाडौँमा मधेशी पत्रकार समाजले आयोजनले गरेको छलफल कार्यक्रममा मधेस दल बिचको मोर्चाबन्दी र एकताको आवश्यकता बारे छलफल भएको हो । कार्यक्रममा बोल्ने अधिकांश नेताले सहकार्य तथा एकताको आवश्यकता रहे पनि विगतमा भएको यस्तो मोर्चा र पार्टी एकता किन भङ्ग भयो भन्ने बारेमा समीक्षा हुनुपर्ने कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा लोसपाका वरिष्ठ नेता लक्ष्मण लाल कर्ण, अनिल झा सहित जसपाका नेता रेणु यादव, जसपा नेपालका नेता राजकिशोर यादव लगायतकाले प्रमुख दुुई दलहरु काग्रेस र एमालेले संविधान संशोधन गरेर देशलाई दुई दलीय शासनमा अघि वढान खोजेको भन्दै मधेशी दलहरुको आपसी मोर्चाबन्दी तथा एकतामा जोड दिएका हुन ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले विगतमा भएको मोर्चा एकताको बारेमा समीक्षा हुन आवश्यक रहेको बताए । उनले दलहरूको बिचमा एकता हुनु आवश्यक रहे पनि नेतृत्व परिवर्तन गरेर मात्र एकता र गठबन्धन हुने कुरा उल्लेख गरे ।
जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले मधेसी दलको बिच एकता सम्भव नभए पनि लुज एलायन्स बनाउनुपर्ने कुरामा जोड दिए । ‘विगतमा बनेका मोर्चाहरू किन चलेन किन टिकेन त्यसको बारेमा समीक्षा हुँदै गर्छ तर त्यस अघि एउटा लुज एलायन्स बनाएर छलफललाई अगाडि बढाउनु पर्छ,’ उनले भने ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले मधेसको राजनीतीको अहिले सम्मको अवस्थाको गहिरो अध्यान अनुुसन्धान गरेर अगाडीको वाटो तय गर्नुपर्नेमा जोड दिएका थिए । उनले विगत देखि अहिले सम्मको गम्भिर समिकक्षा गर्दै अगाडी वढनुपर्ने तर्क अघि सारेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीको महासचिव डा सुरेन्द्र झाले सुरेन्द्र झाले एकता र मोर्चाको लागि केही अध्ययन गर्न आवश्यक रहेको बताए । जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा शिवजी यादवले पनि मधेसी दलहरूबिच एकता सम्भव नभएको स्पष्ट पारे । यद्यपि एउटा मोर्चा वा गठबन्धन बनाएर जान सकिने उनको भनाई थियो ।
यसअघि भएका एकता किन टिकेन भन्ने बारे समीक्षा हुन आवश्यक रहेको उनले बताए । उनले भने, ‘यहाँ अस्तित्वको लडाइँ छ । पहिचानको लडाइँ छ । त्यसका लागि सहकार्य गर्न आवश्यक छ । यसका लागि पहल हुनुपर्छ ।’ राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठले मधेसी दलबिच एकता वा सहकार्य हुनुपर्छ तर यसका लागि विगतको समीक्षा हुन आवश्य रहेको दोहोर्याए । छलफल कार्यक्रममा विषय प्रवेश गराउदै मधेशका युवा नेता संजय यादवले मधेशी दलहरुको आन्तरिक अवस्था र देशको वर्तमान राजनितीक परिस्थिती वारेमा विश्लेषण गरेर सुनाएका थिए ।