दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन- स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताउनुभएको हो। उहाँले नेपाली कांग्रेस र नेकपा ९एमाले० समीकरणमा संसदको झन्डै दुई तिहाई बहुमतको सरकार बनेको बताउनुभयो।
उहाँले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रूपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताउनुभयो। उहाँले दुई ठुला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको बताउनुभयो। उहाँले दुई ठुला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिको एकीकृत स्वरूप निर्माण भएको बताउनुभयो। उहाँले एकीकृत स्वरूप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेस र नेकपा (एमाले) समीकरणमा सरकार बनेको छ। संसदको झन्डै दुई तिहाई बहुमतको सरकार बनेको छ। यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रूपमा काम गर्न सकेन भने अब यो भन्दा बलियो र फरक परिस्थितिको आशा गर्न सक्ने स्थिति हुन सक्दैन। त्यसैले सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरूको एकीकृत स्वरूप निर्माण हुनु हो।’’
उहाँले सरकारको जस्तै पत्रकार महासङ्घमा पनि त्यही परिस्थिति बनेको भन्दै चुनौती पूर्ण सफलतालाई पत्रकारको पेशागत मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो।