रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
कास्की जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेसहित पाँच जनालाई मङ्गलबारबाट लागू हुने गरी चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
मङ्सिर २७ गते थपिएको पाँच दिनको म्याद सोमबार सकिएपछि प्रहरीले मङ्गलबार बिहान उहाँलाई अदालत उपस्थित गराएको हो । प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार गर्न समय लाग्ने भएकाले थप म्याद मागिएको हो ।
लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, जिबी एण्ड ग्रुपकी कर्मचारी लीला पछाई र सहकारीका पूर्वसञ्चालक कृष्ण गुरुङलाई म्याद थपको छ । लामिछानेमाथिा यसअघि सात पटक म्याद थप भइसकेको छ ।
मङ्गलबारबाट बढीमा चार दिनभित्र अभियोगपत्र बुझाइसक्नुपर्ने कानुनी बाध्यता छ । अनुसन्धान गरिएका तीन अभियोगमध्ये सबैभन्दा बढी सम्पत्ति शुद्धिकरणमा तीन महिनाभित्र अभियोजन गर्नैपर्ने कानुनी व्यवस्था छ ।