एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज – Nepalboli

एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज

   २०८१ पुष १, सोमबार  

सर्वोच्च अदालतले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका मीनबहादुर गुरुङले दान गरेको जग्गा सम्बन्धित पक्षले भवन बनाउन पाउने बाटो खोलिदिएको छ। न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेसँगै एमाले र मीनबहादुरबीच जग्गा पास गर्ने बाटो खुलेको हो।

एमालेको पक्षबाट बहस गरेका कानून व्यवसायीहरुले दान, दातब्य, बकसपत्र जस्ता विषयको छिनोफानो सुरु अदालतबाट हुनुपर्ने भन्दै रिटबाट हेर्न नमिल्ने जिकिर गरेका थिए। सोही तर्ककै आधारमा दिने र लिने सहमत भएको विषयमा अन्यथा सरकारी जग्गा वा विवाद नभएको अवस्थामा अदालत प्रवेश गर्न नमिल्ने ठहर भएको बहसमा सहभागी अधिवक्ता राजाराज घिमिरेले बताए।

ज्ञानबहादुर बस्नेत, दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले तत्काल दान लेनदेन प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो। संयुक्त इजलासले रिट खारेज गरेसँगै अब जग्गा पास तथा भवन निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको घिमिरले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै