रवि लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय – Nepalboli

रवि लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय

   २०८१ पुष १, सोमबार  

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माका अनुसार सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताइएको छ । सरकारी वकिल कार्यालयमा बुझाएको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय व्यक्त गरेको छ ।
प्रहरीले उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ५१ मध्ये ३७ जना फरार रहेका छन् । उनीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।

प्रतिवादीहरू सहकारीका सञ्चालक समितिका पदाधिकारी एवं सदस्यदेखि सहकारीको रकम अवैधानिक रूपमा लगानी भएका कम्पनीका सञ्चालकसम्म छन् । पूर्वडीआईजी छविलाल जोशीदेखि बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली समेत छन् । नेपाली बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत अपचलनको अभियोगमा पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययनको क्रममा रहेको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै