काठमाडौँको सामुदायिक विद्यालयको एसइई उत्तीर्ण ७८ प्रतिशत
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसइई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७ प्रतिशत) विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । गएको वर्ष १५० जना (३.८३ प्रतिशत) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यसमा वर्ष २५९ प्रतिशत सुधार आएको छ ।
५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष तीन हजार ९५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये तीन हजार ८६ जना (७८ प्रतिशत) उत्तीर्ण भएका छन् । ८७३ जना (२२ प्रतिशत) ले पुनः परीक्षा दिनुपर्ने भएको छ । गएको वर्ष तीन हजार ९१२ जना आवेदक थिए ।
झाकाअनुसार ३.६० देखि ३.२१ सम्म जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष एक हजार ५० जना (२६.५२ प्रतिशत) छ । गएको वर्ष यो सङ्ख्या ४८८ जना (१२.४५ प्रतिशत) थियो । यो समूहमा गएको वर्षभन्दा यस वर्ष ११३ प्रतिशतले नतिजा वृद्धि भएको छ । यसमा नतिजा बढ्ने क्रममा छ ।
३.२० देखि २.८१ जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष एक हजार ८० जना (२७.२८ प्रतिशत) छ । गएको वर्ष ८०९ जना (२०.६३ प्रतिशत) थियो । यस वर्ष गएको वर्षभन्दा ३२ प्रतिशत सङ्ख्या वृद्धि भएको छ । यस्तै, २.८० देखि २.४१ जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष ३९५ जना (९.९८ प्रतिशत) छ । यसमा गएको वर्ष ९८२ जना (२५.०४ प्रतिशत) थियो । यस्तै, २.४० देखि २.०१ जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष १६ जना (०.४० प्रतिशत) छ । गएको वर्ष यो सङ्ख्या ९२३ जना (२३.५४ प्रतिशत) थियो । यो नतिजाले कम सङ्ख्या ल्याउने विद्यार्थीको सङ्ख्या घटिरहेको र धेरै अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या बढिरहेको देखाउँछ, झाको भनाइ छ ।
२ र त्यसभन्दा तल जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ८७३ छ । यो २२.०५ प्रतिशत हो । गएको वर्ष यस समूहमा ५६९ जना अर्थात् १४.५२ प्रतिशत विद्यार्थी थिए ।
विश्व निकेतनका चार जना विद्यार्थीले ल्याए ४ जिपिए
काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका चार जना विद्यार्थीले जिपिए ४ ल्याएका छन् । यो नेपालभरिका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट सङ्ख्या हो । यससँगै ज्ञानोदय माध्यमिक विद्यालय, वाफलका तीन जना, रत्नराज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरका दुई जना र तरुण माध्यमिक विद्यालय, बालाजुका एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । यसरी महानगरपालिकाभित्रका ५८ विद्यालयमध्ये चार वटा विद्यालयका १० जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको हुन् ।