अग्रजको अनुभव नयाँ पिँढीलाई आवश्यकः राष्ट्रिय सभा अध्यक्ष दाहाल – Nepalboli

अग्रजको अनुभव नयाँ पिँढीलाई आवश्यकः राष्ट्रिय सभा अध्यक्ष दाहाल

   २०८१ असार १७, सोमबार  

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्व सांसदहरूको अनुभव र क्षमता नयाँ पिँढीका सांसदहरूलाई आवश्यक रहेको बताउनुभएको छ । पूर्व सांसद मञ्च, नेपालको २४ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकाले नयाँ पीढीका सांसदहरूलाई आवश्यक रहेको र संसद्को प्रभावकारिता बढाउन महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको हो ।

‘‘लामो संसदीय अनुभव र क्षमतावान् व्यक्तित्वहरू रहेको पूर्व सांसद मञ्चले दिने सुझाव संसद्, सरकार र राष्ट्रकै लागि महत्त्वपूर्ण हुने कुरामा दुई मत हुनै सक्दैन’’, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘मञ्चले सङ्घीय संसद्लाई सल्लाह सुझाव र आवश्यक परामर्श दिँदै आएको छ, यसले संसद्को प्रभावकारितामा महत्त्वपूर्ण सहयोग पुगेको मैले महसुस गरेको छु ।’’

संविधान निर्माणको बेलामा पूर्व सांसद मञ्चले खेलेको भूमिकाबारे चर्चा गर्नुहुँदै अबका दिनमा देशमा राजनीतिक जटिलता पैदा हुँदा सकारात्मक परिणामका लागि अनुभवी र खारिएका पुराना सांसदहरूको सक्रियता आवश्यक हुने बताउनुभयो ।

नेपाली जनताको त्याग, तपस्या र बलिदानका कारण देशले नयाँ संविधान पाएको चर्चा गर्दै अध्यक्ष दाहालले अहिलेको संविधानलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । दलीय आग्रहबाट माथि उठेर राष्ट्रसामु देखा परेका विषयमा साझा धारणा बनाउने पूर्व सांसद मञ्चको कार्यशैलीबारे प्रशंसा गर्दै उहाँले समयानुकूल संस्थाको विश्वसनीयतालाई बढाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।

नेपालको ६ दशक लामो संसदीय इतिहासमा राजनीतिक फेरबदल र उतारचढाव धेरै भएको उल्लेख गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहालले संसदीय इतिहासमा पूर्व सांसद मञ्च संसद्को परामर्शदाता संस्थाकै रूपमा रहेको र अहिले पनि सङ्घीय संसद्का दुवै सदनले नियमावलीमै परामर्श सेवा दिने संस्थाका रूपमा उल्लेख गरेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै