एसईईमा दुईभन्दा बढी विषयमा नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने – Nepalboli

एसईईमा दुईभन्दा बढी विषयमा नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

   २०८१ असार १४, शुक्रबार  

माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी (नन ग्रेड) ल्याएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार यस्तो निर्णय गरेको हो।

एनजी आएका सबै विद्यार्थीहरुलाई मौका परीक्षा दिन पाउने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए। उनले भने, ‘यदि एनजी आएका कुनै विद्यार्थीले मौका परीक्षा दिएर कक्षा ११ पढ्ने चाहना राख्छन् भने उनीहरुले मौका परीक्षा दिन पाउन् भनेर मन्त्रीस्तरीय निर्णयबाट यो मौका दिइएको हो।

मन्त्रालयले एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका-२०७८ संशोधन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन गरिसकेको छ।

यसैगरी पाठ्यक्रम विकास केन्द्र, परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय समेत गरेको दाहालले जानकारी दिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै