चक्रपथको कलंकी-धोबीखोला सडक विस्तारको मागसहित दबाब यात्रा गर्दै प्रदीप पौडेल
रिङरोडको कलंकी-धोबीखोला सडकखण्ड विस्तारको मागसहित नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले पैदल यात्रा गर्ने भएका छन्। कलंकी-धोबीखोला सडक विस्तार तुरून्त अघि बढाउन दबाब दिने उद्देश्यले पौडेलले असार १५ गते शनिबार सामूहिक यात्रा गर्न लागेका हुन्। उनले यो यात्रामा सहयोग गर्न काठमाडौंबासीलाई आह्वान गरेका छन्। पौडेलका अनुसार शनिबार बिहान ७ बजेदेखि कलंकीबाट दबाब यात्रा सुरू हुनेछ। बिहान करिब १०:३० बजे धोबीखोला पुग्ने कार्यक्रम छ।
‘रिङरोडको कलंकी-धोबीखोलालगायत क्षेत्रका बासिन्दालाई यो दबाब यात्रामा साथ दिन मैले आह्वान पनि गरेको छु,’ उनले भने। कलंकी-धोबीखोला करिब १३ किमी सडक विस्तार गर्ने भने पनि काम अघि बढ्न सकेको छैन। सडक छेउका रूख कटान गरिएको थियो। ‘रिङरोडको यस खण्ड समयमै नबनेकोले यस क्षेत्रका मानिस पीडित छन्। पानी परेका बेला हिलाम्मे र घाम लागेका बेला धुलोले स्थानीय बासिन्दालाई सास्ती दिएको छ,’ उनले भने, ‘अब बर्खा लाग्यो, रिङरोडमा खेत रोपिदिए हुन्छ, हिलाम्मे छ।’
रिङरोडको कलंकी-धोबीखोला खण्ड चिनियाँ लगानीमा बनाउने भने पनि अन्यौलमा परेको छ। सांसदहरूले चीनले नबनाउने हो भने आफ्नै स्रोतबाट नेपाल सरकारले यो सडक बनाउनुपर्ने बताइरहेका छन्।