हालसम्म ९.८ प्रतिशत रोपाइँ, राष्ट्रिय धान दिवस चितवनमा
असार १२ सम्म देशभरि ९.८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत धान रोपाइँ भएको छ भने सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र भएको छ । गत वर्ष असार १० सम्म सुदूरपश्चिम प्रदेशमा २२.६ प्रतिशत मात्र रोपाइँ भएको थियो भने मधेश प्रदेशमा २.९ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष कर्णाली प्रदेशमा २३.९ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा १८.३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ८.८ प्रतिशत र गण्डकी प्रदेशमा ८.३ प्रतिशत रोपाइँ भएको छ । कोशीमा ५.६ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
यस वर्ष कुल १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने विभागले जनाएको छ । त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । गत वर्ष यतिबेला ८.७५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
सरकारले यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भनी मूल नाराका असार १५ गते २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन गइरहेको छ ।
यस पटकको धान दिवसको मुख्य कार्यक्रम चितवनको बछौलीमा हुने कृषि विभागका महानिर्देशक डा। नरहरिप्रसाद घिमिरेले बताउनुभयो । विभागले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा धान दिवस चितवनमा मनाउने जानकारी गराएको छ ।
यसअघि प्रत्येक धान दिवस काठमाडौँमै मनाउँदै आएको थियो । कृषिमन्त्री साहको विशेष पहलमा यस पटकको धान दिवस उपत्यकाबाहिर मनाउन लागिएको हो ।