२१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने समाजवादीको निर्णय
नेकपा एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ। आज बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको हो । ७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ। अहिले सम्मानित नेतामा झलनाथ खनाल छन्।
एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ। सचिवमा दलित, जनजाति र महिलाबाट एक-एक जना ल्याइने भएको छ।
योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ।
साथै एकीकृत समाजवादीले केन्द्रीय कमिटी २९९ सदस्य बनाउने पनि निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले १५१ बाट थप गरेर २९९ सदस्यीय बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।