क्याम्पस प्रमुख कुशवाहको हत्या आरोपमा सातजनामाथि कर्तव्य ज्यान मुद्दा – Nepalboli

क्याम्पस प्रमुख कुशवाहको हत्या आरोपमा सातजनामाथि कर्तव्य ज्यान मुद्दा

   २०८१ असार १३, बिहीबार  

बाराको कलैयास्थित रामराजा मोहनविक्रम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको हत्या आरोपमा सातजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।प्रहरीले क्याम्पस प्रमुख कुशवाहको हत्या अभियोगमा आदर्श कोतवाल गाउँपालिका- २ खजुरियाका ५४ वर्षीय विनोद राउत कुर्मी र ३४ वर्षीय राधेशकुमार पटेलसहित सातजनामाथि मंगलबार मुद्दा दर्ता गरेको छ ।

यसैगरी, प्रहरीले ३२ वर्षीय अवधलाप्रसाद कुशवाह, २९ वर्षीय चाँदसीप्रसाद कुशवाह, बतराका २७ वर्षीय श्रवणकुमार साह, कलैया उपमहानगरपालिका– १० मटिअर्वाका ५० वर्षीय ब्रह्मदेव राम र करैयामाई गाउँपालिका– ७ पिपरा टोलका ५० वर्षीय मोतीलाल चौधरीमाथि मुद्दा दर्ता गरेको छ ।

उनीहरूमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दाअन्तर्गत बारा जिल्ला अदालतबाट मंगलबारबाट लागू हुने गरी ६ दिनको म्याद थप लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । सो घटनामा संलग्न मुख्य अभियुक्त सुरेन्द्र कुशवाहसहित अन्य फरार प्रतिवादीहरुको खोजी जारी रहेको पनि उनले जानकारी दिए । प्रवक्ता न्यौपानेका भने, ‘हालसम्मको अनुसन्धानका क्रममा घटनाको कारण घरायसी विवाद देखिएको छ ।’

गाउँबाट कलैयातर्फ मोटरसाइकलमा फर्किने क्रममा कुशवाहमाथि आदर्श कोतवाल गाउँपालिका– ३ बतरा टोलमा सुरेन्द्रसहित मोटरसाइकलमा पछाडि आएका व्यक्तिले जेठ ३२ गते गोली हानी हत्या गरेका थिए ।

गोली लागेलगत्तै क्याम्पस प्रमुख कुशवाहले आफूमाथि सुरेन्द्रले गोली प्रहार गरेको भन्दै प्रहरी र आफन्तलाई मोबाइलबाट फोन गरेर सुनाएका थिए । प्रहरीले सोही घटनामा प्रयोग गरिएका तीनवटा मोटरसाइकल, ६ राउन्ड गोली, मोबाइल, ल्यापटप, नेपाली तथा भारतीय सिम बरामद गरेको पनि जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै