आगामी आबको बजेटमा जनताले परिवर्तनको महसुस गर्ने – Nepalboli

आगामी आबको बजेटमा जनताले परिवर्तनको महसुस गर्ने

   २०८० चैत्र २३, शुक्रबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा जनताले परिवर्तन एवम् विकासको महसुस गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले शुक्रबार गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेट विगत आर्थिक वर्षको जस्तो नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत ऐन संशोधन गरेर जनताको सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण भइरहेको स्पष्ट पार्नुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पार्नुभयो ।

“गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जलविद्युत, जडीबुटी र एवम् अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।”

“आगामी आर्थिक वर्षमा देशभर सुशासन एवम् सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।”

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै