प्रति व्यक्ति ८ विरुवा रोपौ भन्ने नारा सहित पैदल यात्रा सुरु – Nepalboli

प्रति व्यक्ति ८ विरुवा रोपौ भन्ने नारा सहित पैदल यात्रा सुरु

   २०८० चैत्र २३, शुक्रबार  

‘प्रति व्यक्ति ८ विरुवा रोपौं, प्रकृतिबाट लिएको उधारो तिरौं’ भन्दै झापाका ४ जना युवाहरुले पर्यावरण संरक्षणको निम्ति जागरण अभियान घोषणा गर्दै मेची महाकाली पैदल यात्रा सुरु गरेका छन् । झापा दमकका युवा सुवास सुवेदी सहित तीन जनाले शुक्रबार नेपालको पूर्वी नाका झापाको काँकडभिट्टा मेची पुलबाट पैदलयात्रा सुरु गर्नुभएको हो ।

सुवेदी सहित पदम भण्डारी, दिनेश भण्डारी र उमेर राई पैदलयात्रामा रहनुभएको छ । जनसङ्ख्याको बढ्दो चाप, तीव्र औद्योगिकिकरण र खनिज तथा प्राकृतिक स्रोतहरुको अत्यधिक दोहनले सृजित वातावरण प्रदुषणले भएको हरितगृह ग्याँसहरुको वृद्धिसँगै पृथ्वीको तापक्रममा हरेक वर्ष हुँदै गएको उच्च वृद्धिका कारण सिर्जित विश्वव्यापी उष्णिकरण र जलवायु परिवर्तनले सम्पूर्ण चराचर जगतकै अस्तित्व संकटमा परेकाले यस विषयमा सचेतना फैल्याउन आफूहरुले यात्रा सुरु गरेको सुवेदीले बताउनुभयो ।

हिमालको हिँउ र बरफ पग्लने कारण समुद्रको सतह बढ्नाले, आँधीबेहरी र खडेरी जस्ता गम्भीर प्राकृतिक प्रकोपहरू आउने, बासस्थानहरू अवरुद्ध हुने भएकाले जैविक विविधताको हानी, र जलवायु परिवर्तनका कारण कृषि र खाद्यान्न उत्पादन र आपूर्तिमा अवरोधहरू खडा हुने विषयमा जानकारी गराउन चाहान्छौं, उहाँले भन्नुभयो ।

पर्यावरणमा नोक्सानी पुग्दा स्वास्थ्य समस्याहरू र आर्थिक असमानताहरूलाई पनि बढाउँदा कमजोर समुदायहरूलाई सबैभन्दा कठिन असर पर्ने भएकाले आफूहरुले ६० दिने यात्राको क्रममा यस विषयमा छलफल चलाउने र देशभरको अवस्थाको विषयमा जानकारी लिने पनि सुबेदीले बताउनुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै