सुन तस्करीदेखि अवैध मुद्राको कारोबारसम्ममा चिनियाँ संलग्नता
पछिल्लो समयमा नेपालमा हुने विभिन्न ठुला-ठुला अपराधका घटनामा चिनियाँ संलग्नता एक पछि अर्को पाउन थालिएको हो । गत आव २०७९/०८० मा विभिन्न अपराधमा १३१ जना विदेशी नागरिकहरु नेपालमा पक्राउ परेका थिए । यीमध्ये ४२ जना चिनियाँ नागरिक रहेको प्रहरीको तथ्यांकले देखाउँछ ।
पछिल्लो समय चिनियाँ नागरिकहरुको संलग्नता सुन तस्करीजस्ता संगठित अपराधदेखि प्रविधिको प्रयोगबाट हुने अपराधहरुमा पनि देखिन थालेको छ । पछिल्लो पटकको ठूलो सुन तस्करीको घटनामा पनि चिनियाँ नागरिकहरुको संलग्नता रहेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको थियो ।
गत साउनमा राजस्व अनुसन्धान विभागले हङकङबाट आएको ‘ब्रेक सु’मार्फत भएको १५५ किलो सुन तस्करीसँग सम्बन्धित रहेको आरोपमा दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको थियो । सोही सुन प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ हुनुअघि अर्का चिनियाँ नागरिक ज्यास्यांग लिनलाई पनि पक्राउ गरिएको थियो ।
त्यस्तै, अवैध रुपमा लुकाई छिपाई विदेशी मुद्रा नेपाल बाहिर लैजान खोजेको आरोपमा पनि चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।
गत साउनमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुक लैजान लागेको १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक होंग होंगलाई पक्राउ गरिएको थियो ।
गत असारमा स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ र २ हजार चिनियाँ युआनसहित दुई जना चिनियाँ नागरिक झु झियानछियान र झु जिनफांग पक्राउ परेका थिए ।
त्यसको एक महिनाअघि गत जेठमा अवैध अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाईपासमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक झाओ जिआंगपेंगलाई पक्राउ गरिएको थियो ।
पछिल्लो पटक फाल्गुन २२ गते अवैध रुपमा बाह्य मुलुक लैजान लागिएको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक चुइ बिंगचान पक्राउ परेका थिए ।
नेपाल प्रहरीको तथ्यांककाअनुसार आर्थिक वर्ष २०७८/०७८ मा अवैध मुद्रासँग सम्बन्धित कसुरमा ४ चिनियाँ नागरिक पक्राउ परेका थिए भने गत आर्थिक वर्ष २०७९/०८० मा २ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ परेको थियो ।
प्रहरीको तथ्यांकअनुसार नेपालमा अपराधिक गतिविधिमा चिनियाँहरुको संलग्नता उच्च रहेको छ ।
२०७६ भदौमा काठमाडौंमा बैंकको एटिएम कार्डबाट रकम चोरी गरेको आरोपमा चिनियाँहरुको एक समूह नै समातिएको थियो। त्यस्तै, सोही वर्ष पुस ७ गते १२२ जना चीनियाँ नागरिकहरुलाई समातिएको थियो । तर, उक्त घटनामा अध्यागमनको कानुन आकर्षित भएपछि सरकारले ती चिनियाँ नागरिकहरुलाई अध्यागमन विभागमै बुझाएको थियो । उनीहरुलाई चीनले एउटा हवाइ जहाजमार्फत आफनै देश फर्काएको थियो । यो तथ्यांक प्रहरीको अभिलेखमा जोडिएको छैन ।
यस्ता घटनाहरु बाहेक प्रहरीको अभिलेखमा रहेका घटनाहरुमा हेर्ने हो भने पछिल्लो पाँच वर्षमा नेपालमा पक्राउ परेका चिनियाँहरुको संख्या १ सय रहेको छ ।
आर्थिक वर्ष २०७५/०७६ देखि आव २०७९/०८० सम्म पछिल्ला पाँच वर्षमा पक्राउ परेका विदेशी नागरिकहरुमध्येमा ३० प्रतिशतभन्दा धेरै चिनियाँ नागरिकहरु रहेका छन् ।
तथ्यांककाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा पक्राउ परेका ५३ जनामध्ये १५ जना चिनियाँ नागरिकहरु थिए । आव २०७९/०८० मा आईपुग्दा १८० प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षमा ४२ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन्।
अपराधिक गतिविधिमा पनि चिनियाँहरुको संलग्नता वित्तीय अपराधमा बढी संलग्न रहेको देखिन्छ ।
आव २०७५/०७६ मा नेपालमा अपराध गरेको आरोपमा १५ जना चिनियाँ नागरिकहरु पक्राउ परेका थिए । यीमध्ये १ जना भन्सार छलि, २ जना ठगी र १ जना अवैध मुद्राको आरोपमा पक्राउ परेका थिए । त्यस्तै, आव २०७६/०७७ मा नेपालमा कुल पक्राउ परेका ४३ जना विदेशी नागरिकमध्ये १४ जना चिनियाँ नागरिकहरु थिए । १४ जनामध्ये ९ जना चिनियाँ वित्तिय अपराधसँग सम्बन्धित विषयमा पक्राउ परेका थिए । जसमा ५ जना चिनियाँ नागरिक बैंकिंग कसुर, २ जना किर्ते र २ जना ठगीको मुद्दामा पक्राउ परेका थिए ।
आव २०७७/०७८ मा नेपालमा २८ जना विदेशी नागरिक पक्राउ पर्दा १३ जना चिनियाँहरु थिए । १३ जना मध्ये पनि १ जना बैंकिंग कसुर र १ जना किर्तेमा गरि दुई चिनियाँ नागरिक वित्तिय संलग्नताका अपराधमा पक्राउ परेका थिए ।
यसैगरि, आर्थिक वर्ष २०७८/०७९ मा कुल ७७ जना विदेशी नागरिकहरु पक्राउ परेकोमा १६ जना चीनियाँ नागरिकहरु पक्राउ परेका थिए । पक्राउ परेका १६ जना चिनियाँमध्ये वित्तिय अपराधमा संलग्न ८ जना रहेका छन् । जसमा ३ जना भन्सार छलि, १ जना बैंकिग कसुर र ४ जना चिनियाँ अवैध मुद्रामा पक्राउ परेका थिए ।
त्यस्तै, गत आर्थिक वर्ष २०७९/०८० मा १३१ जना विदेशी नागरिक नेपालमा पक्राउ परेकोमा ४२ जना चीनियाँ नागरिक रहेका छन् । यी ४२ जनामध्ये पनि भन्सार छलीमा १ जना, ठगीमा ९ जना, अवैध मुद्रामा २ जना, चोरी १ जना, कल बाइपास १ जना, संगठीत अपराध ५ जना, दुरसञ्चार हानी नोक्सानीमा १ जना र बैंकिग ऐन सम्बन्धी कसुरमा २ जना गरि वित्तीय क्षेत्रसँग संलग्न अपराधमा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
कारगार व्यवस्थापन विभागकाअनुसार देशभरका कारागारहरुमा रहेका करिब १ हजार ४ सय विदेशी कैदिहरुमध्ये कम्तीमा ४० कैदिहरु चिनियाँ नागरिक रहेका छन् ।