रास्वपामा मन्त्रालय संयोजन गर्ने चार केन्द्रीय सदस्यलाई पार्टीको तर्फवाट जिम्मा
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले नेतृत्व गरेको मन्त्रालयको कामको संयोजन गर्ने गरी केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेको छ। उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री डा मुकुल ढकाल, सांसद शिशिर खनाल र मन्त्रीहरूसहित मंगलबार बिहान बसेको बैठकले जिम्मेवारी तोकेको हो।
केन्द्रीय सदस्य गणेश कार्कीलाई शिक्षा, विज्ञान तथा प्रविधि, सांसद असिम साहलाई युवा तथा खेलकुद मन्त्रालयको संयोजन गर्ने जिम्मा दिइएको छ। त्यस्तै सांसद गणेश पराजुलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सहप्रवक्ता प्रतिभा रावलले गृह मन्त्रालयको संयोजन गर्ने जिम्मा पाएकी छिन्।
‘उहाँहरूले पार्टी र मन्त्रालयबीच पुलको काम गर्नु हुनेछ, पार्टीका जति पनि नीति, प्राथमिकता, योजना छन् उहाँहरूमार्फत् जान्छ,’ महामन्त्री ढकालले भने। उनकाअनुसार पार्टीले नेतृत्व गरेका मन्त्रालयपिच्छे ९–९ जनाको समूह बन्ने छ। आवश्यकताअनुसार अरू विज्ञ समूह पनि बनाउन सकिने गरी कार्यादेश दिइएको उनले बताए।
मन्त्रालयपिच्छेका त्यस्ता समूहको छुट्टाछुट्टै बैठक बसेर कामको संयोजन गरिने र मन्त्रालयको कामलाई चुस्त तुल्याइने उनले बताए।