‘यात्रुको चापलाई मध्यनजर गरी आवश्यक परे रेल थप्छौँ’
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको सङ्ख्या बढाउने बताउनुभएको छ । शनिबार जनकपुर जयनगर रेल्वे अनुगमन एवम् निरीक्षणका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री महासेठले यात्रीको चाप बढी भएको कुरा आइरहेको भन्दै यात्रुहरूलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने बताउनुभयो । उहाँले भारत सरकारको माध्यमबाट निर्माणको जिम्मा लिएका कम्पनीहरूसँग पनि कुरा गरेको उल्लेख गर्नुहुँदै अब छिटो र छरितो रूपमा सेवा अघि बढाउने प्रतिबद्धता जनाउनु भयो ।
‘‘अहिले नेपाल सरकारले सेवाको भावनाबाट यो सञ्चालन गरेको हो । अब केही दिनपछि हामी अगाडि बढाउँछौँ । सधैँ घाटा लगाएर चलाउन गाह्रो हुन्छ । त्यसमा नेपाल सरकार खासगरी भौतिक पूर्वाधार पूर्वाधार मन्त्रालयले, रेल्वे विभागले त्यसबारेमा सबैको राय लिएर के गर्दा राम्रो हुन्छ, त्यो बाटो हामीले अपनाउनेछौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘ यात्रीको चाप बढी भयो भन्ने छ, त्यो धेरै ठुलो समस्या होइन । यो रेलको समय थपेर धेरै पटक आवतजावत हेरेर बढाउनेछौँ । रेल पनि थप्नेछौँ, यदि यात्रुको चाप बढी भयो भने । यात्रुको चाप हेरेर केके सुविधा दिनुपर्छ, त्यो हामी गर्नेछौँ । सकभर यही आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरूको व्यवस्थाको प्रबन्ध हुनेछ । मालवाहकको लागि प्रक्रिया अघि बढाइसकेको छ ।’’
मन्त्री महासेठले रेलसेवासँग सम्बन्धित आन्तरिक कमी कमजोरीहरूको सम्बोधन गर्ने बताउनुभयो । मन्त्री महासेठले शनिबार जनकपुरदेखि जयनगरसम्म रेलमा यात्रा गरेरै अनुगमन एवम् निरीक्षण गर्नुभएको थियो ।