व्यापारी नरेश अग्रवाल विरुद्ध ८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दायर
हुण्डी र सुनको अवैध कारोबारमा संलग्न रहेको आरोप लगेका विवादित व्यापारी नरेश अग्रवाल विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ। मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालसहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतद्वय शिवहरि पोखरेल र वीरेन्द्रबहादुर माझीको प्रतिवेदनका आधारमा उनीहरु विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानको आधारमा व्यापारी नरेश अग्रवाल विरुद्ध ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ बिगो कायम गरी सो रकमको दोब्बर रकम जरिवानाको मागदाबी लिई सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको हो।
अग्रवालको साथबाट बरामद भएको रकम १ करोड ९९ हजार र अमेरिकी डलर १ हजार ९९४ को हुन आउने नेपाली रकम तथा नरेश अग्रवालले दिवस कार्कीको नाममा बैंक खाता खोली गरेको कारोबारको ६ करोड ९० लाख ५७ हजार रुपैयाँ कारोबार गरेको तथा अन्य व्यक्तिसँग बरामद भई नरेश अग्रवालले दिएको रकम भनी पोल बयान गरेका समेतका आधारमा अग्रवालसँग ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ बिगो कायम गरी सो रकमको दोब्बर रकम जरिवानाको मागदाबी लिई मुद्दा दायर गरिएको हो।