ललितपुरमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशेपुल निर्माण सुरु
ललितपुर महानगरपालिले कुसुन्ती चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण सुरु गरेको छ । सम्भवत नेपालकै पहिलो लिफ्टसहितको अपाङ्गतामैत्री यो आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गर्नुभयो ।
सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माणका लागि अनुमति मागेको थियो ।
संविधानले व्यवस्था गरेबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको हो ।
पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकाशेपुल बनाउने निधो गरेका हौँ ।’’ उहाँले अन्यत्रको आकाशे पुल सद्धे व्यक्तिका लागि समेत असहज भएको बताउनुहुँदै लिफ्टसहितको निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बालबालिका, ज्येष्ठ नागरिकलगायत सम्पूर्णलाई यो पुल सहज हुनेछ ।’’ ललितपुर महानगरको वडा नं १३ मा निर्माण हुने यो पुलको निर्माण अवधि एक वर्ष रहेको छ ।