Page 232 – Nepalboli

थाइल्यान्डबाट पाँच नेपालीको उद्धार

नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार ९पुरुष० थाई सरकारी निकाय ‘आइओएम’ थाइल्यान्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो। एक जना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ।

 

जुनारले बढायो समृद्धिको यात्रा

सिन्धुली । आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्यतामा पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर बाक्लो रूपमा फैलिएको छ जुनार बगैँचा । जुनार बगैँचाका प्रत्येक हाँगा–हाँगामा लटरम्म झुण्डिएका छन्, पाकेका फल ।

सिन्धुलीको महाभारत पर्वतको काखमा अवस्थित गोलञ्जोर गाउँपालिका–४ तीनकन्याको दृश्य हो यो । जहाँ, लुकेको छ एउटा कथा-सङ्घर्ष, सम्भावना र सफलताको । केही वर्षअघिसम्म यहाँका स्थानीय बासिन्दाको जीवन दयनिय थियो । किसानहरू खेतबारीमा परम्परागत बालीहरू दलहन, मकै, कोदो, फापर फलाएर जीवन गुजार्थे । यी बालीहरू उत्पादन गर्न गाह्रो त थियो नै, पर्याप्त पनि हुन्नथ्यो ।

गरिबी र अभावका कारण स्थानीय बासिन्दाहरू रोजगारीको खोजीमा भौतारिन्थे । सडक अभावका कारण गाउँमा यातायातका साधन देख्न समेत पाइन्न थियो । पदैल यात्रा गरेर रोजगारी खोज्दै सहर झर्थे ।

एक दिन गाउँमा पुगेका कृषि विज्ञहरूले किसानहरूलाई सुल्झाए, “यस ठाउँको माटो र मौसम जुनार खेतीका लागि उपयुक्त छ, यसको व्यावसायिक खेती गर्नुस्, मनग्य आम्दानी हुन्छ ।” किसान गुन्डबहादुर ठकुरीले कृषि विज्ञहरूको सुझावलाई आत्मसात गर्नुभयो । उहाँले आफ्नो थोरै जमिनमा जुनारका बिरुवा रोपेर व्यावसायिक खेतीको यात्रा सुरु गर्नुभयो । मेहनत र धैर्यताको फलस्वरूप बिरुवा रोपेको तीन वर्षदेखि नै जुनारको फलले आम्दानी दिन थाल्यो ।

जुनारको फलबाट मनग्य आम्दानीको स्वाद चाख्न पाएपछि उहाँले जुनार बगैँचा २५ रोपनीमा विस्तार गर्नुभयो । उहाँले अहिले जुनार बेचेर वार्षिक १५ लाख रूपैयाँ आम्दानी गर्न थाल्नु भएको छ । किसान गुन्डबहादुरको यो सफलताका पछाडि धर्मपत्नी देविकुमारी ठकुरीको पनि उत्तिकै साथ र सहयोग छ । सत्तरी वर्षको उमेरमा पनि उहाँ जुनार खेतीमा सक्रिय हुनुहुन्छ । उहाँले आफ्नो उमेरको तीन दशक बढी जुनार खेतीमा समर्पित गरिसक्नु भयो ।

अहिले उहाँको बगैँचामा जुनार लटरम्मै फलेका छन् । हामी जुनार बगैँचामा पुग्दा बोटका जुनार टिपेर बोरामा हाल्दै हुनुहुन्थ्यो उहाँ । “अघिल्लो वर्षभन्दा यस वर्ष जुनार अलि कम फलेको छ,” देवीकुमारीले भन्नुभयो ।

ठकुरी दम्पतीले ३५ वर्षदेखि जुनारको व्यावसायिक खेती गर्दै आउनुभएको छ । ‘पाँच लाखदेखि ३५ लाखसम्म वार्षिक रूपमा आम्दानी लिने किसान छन् यहाँ,’ किसान गुन्डबहादुरले भन्नुभयो, “जुनार उत्पादन गर्दाको शुरुआती वर्षमा प्रतिदाना ५० पैसामा बिक्री गरेको जुनार अहिले बगैँचामै प्रतिदाना १० रुपैयाँमा बिक्री हुन्छ । जुनारबाट भएको आम्दानीले काठमाडौंको कपनमा घर घडेरी जोडेका छौँ । हाम्रो पारिवारिक खर्च यसैले धानेको छ ।”

ठकुरी दम्पतीले आफ्नो मेहनत र इमानदारिताबाट केवल आफ्नो सपना मात्रै साकार बनाउनु भएन, रोजगारी पनि सिर्जना गरी दिनुभएको छ । अहिले गाउँका अधिकांश किसानले आफ्नो पाखा र खेतबारीमा जुनार, सुन्तलाको व्यावसायिक खेती गरिरहेका छन् । आफ्नो पाखाबारी नभएकाहरूले जुनारको व्यावसायिक खेती गर्ने किसानको बगैँचामा रोजगारी पाएका छन् । स्थानीय दलबहादुर नेपाली र उहाँको धर्मपत्नी ज्ञानुलाई रोजगारीका लागि भौंतारिदै सहर पस्न नपर्ने खुसीले हर्षित तुल्याएको छ । आफ्नै गाउँको माटोको गन्धमा हुर्किने दलबहादुर दम्पतीलाई सहरको धुलो र चिल्ला सडकले कहिल्यै लोभ्याएन । पाँच वर्षअघि गाउँमै रहेको व्यावसायिक जुनार बगैँचामा काम गर्न पाउने मौका पाउँदा उनीहरूको जीवनले नयाँ मोड लियो । “सहर जाँदा परिवारसँग टाढिनु पर्‍थ्यो,” दलबहादुरले भन्नुभयो, “गाउँको जुनारले परिवारसँगै बस्ने वातावरण बनायो ।”

नेपाली दम्पतीले बगैँचामा सिँचाइ, गोडमेल, र जुनार टिप्नेदेखि बजारसम्म पुर्‍याउने काम गर्छन् । “गाउँकै खेतबारीमा पसिना बगाउन पाउनु पौरख नै हो,” उहाँले गर्व गर्दै भन्नुभयो । जुनार बगैँचाले नेपाली दम्पती जस्ता अरू मजदुरहरूलाई पनि रोजगारी दिएको छ । कुनै बेला विदेश जान लागेकाहरू गाउँ फर्केर व्यावसायिक खेतीप्रति आकर्षित भएका छन् । जुनार खेतीले तीनकन्याका किसानलाई आत्मानिर्भर बनाएको छ नै मजदुर र व्यापारीलाई पनि रोजगारीको अवसर प्रदान गरेको छ ।
बगैँचाका जुनार बजारमा

तीनकन्याका बगैँचामा उत्पादन भएका जुनारले यतिबेला जिल्लाका मुख्य चोक र बजार क्षेत्र भरिएका छन् । किसान र व्यापारीलाई पाकेका जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । सिन्धुलीको रमणीय दृश्य अवलोकन गर्दै बिपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूका लागि जिल्लाको जुनार मुख्य कोसेली बनेको छ । जुनार पकेट क्षेत्रका किसानहरूले आफ्नो बारी, बगैँचामा उत्पादन गरेका जुनार राजमार्गको छेउमा बिक्रीका लागि राखिएको हुन्छ । यात्रुहरू त्यही जुनार किनेर कोसेलीको रूपमा लिएर जाने गर्दछन् ।

‘जुनार सबैभन्दा बढी बिक्री हुने स्थान भनेकै बिपी राजमार्ग हो,’’ जुनार विकास सङ्घ, सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेमगरले भन्नुभयो, “जुनार तीनकन्याको मात्रै होइन, सिन्धुलीको पहिचान बनिसकेको छ । यसले आर्थिक लाभसँगै आत्मसन्तुष्टि पनि मिलेको छ ।”राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रु सिन्धुलीको जुनारसँग परिचित छन् । कतिपय यात्रुहरू जुनारको मुख्य बजार सेल्फिडाँडा, खनियाखर्क, खुर्कोटलगायतका स्थानमा आफू सवार सवारी साधन रोकेर रसिलो जुनारको स्वाद लिएर मात्रै यात्रालाई अगाडि बढाउँछन् । झापा–काठमाडौंसम्मको यात्राका क्रममा खनियाखर्क बजारमा भेटिनुभएका गोपाल काफ्लेले भन्नुभयो, “म यहाँको जुनार नखाई यात्रा अगाडि बढाउँदिन । श्रीमतीले पनि सिन्धुलीबाट जुनार लिएर आउनु है भनिकीछिन्, लिएर जान्छु ।”

मङ्सिरदेखि माघसम्म जुनारको याम हो । यस समयमा राजमार्ग छेउका पसल र यहाँका बजारहरू जुनारले भरिएका हुन्छन् । “हामीलाई किसानले ताजै जुनार उपलब्ध गराउँछन् । दुई दशकदेखि जुनारको व्यापार गदैँ आएको छु । यहाँ जुनार किन्ने मुख्य ग्राहक भनेकै बिपी राजमार्गका यात्रुहरू हुन्,” खनियाखर्ककी जुनार व्यापारी सावित्रा थापामगरले सुनाउनुभयो । किसान कुसुमकुमारी ठकुरी भने जुनार किसानले उचित मूल्य नपाएको गुनासो गर्नुहुन्छ । व्यापारीले पसलैपिच्छे फरक–फरक मूल्य लिने गरेकोमा उहाँको आपत्ति छ । “बजारमा जुनारको मूल्यमा एकरूपता छैन । व्यापारीअनुसार फरक–फरक छ । किसानसँग प्रतिकिलो ६० देखि ८० रूपियाँमा किन्छन् तर व्यापारीले भने ८० देखि १३० रूपैयाँसम्ममा बेचिरहेका छन्,” उहाँले भन्नुभयो ।

गोलञ्जोरलाई जुनार गाउँपालिका बनाउने प्रयास

तीनकन्या जिल्लाकै जुनार उत्पादनको मुख्य केन्द्रका रूपमा परिचित छ । गोलञ्जोरका छ वटा वडामा जुनारको व्यावसायिक उत्पादन हुन्छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यातले सबल बन्दै गएको छ ।

‘‘गोलञ्जोरको भूमि जुनार उत्पादनका लागि अत्यन्त उपयोगी मानिन्छ । यसको खेती हाम्रो प्राथमिकतामा छ,’’ गाउँपालिका प्रमुख शङ्करराज बरालले भन्नुभयो, “गोलञ्जोरको मुख्य चिनारी नै जुनार हो । जुनार गोलञ्जोरको मात्रै होइन, जिल्लाको पहिचान बनिसकेको छ ।” उहाँले जुनारको प्रचार र प्रवधनका लागि गाउँपालिकाको नाम परिवर्तन गरेर जुनार गाउँपालिका राख्ने प्रयासमा आफू रहेको समेत बताउनुभयो ।जुनार उत्पादनमा देखा पर्ने रोगकिराका विभिन्न समस्या समाधानका लागि थप पहल आवश्यक रहेको उहाँको भनाइ छ । ‘‘प्रत्येक वर्ष विभिन्न रोग र किराको समस्याले जुनार उत्पादनमा असर पुर्‍याइरहेको छ । यसले किसानहरूको आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ,’’ उहाँले चिन्ता व्यक्त गदैँ भन्नुभयो, “रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, सङ्घ सरकार र सरोकारवालासँग विनम्र अनुरोध गर्दछु ।”

जुनार ढुवानीमा चुनौती

तीनकन्याको जुनारले स्थानीय हुँदै राष्ट्रिय बजारसम्म आफ्नो पहिचान बनाइसकेको छ तर कच्ची सडकका कारण बगैँचाको जुनार बजारसम्म ढुवानी गर्न चुनौती छ । वर्षा हुँदा सडक हिलोले भरिन्छ भने हिउँदमा धुलाम्मे सडक उत्तिकै जोखिमपूर्ण छ । हरेक वर्ष किसानले उत्कृष्ट गुणस्तरका जुनार उत्पादन गरे पनि ढुवानी व्यवस्थित नहुँदा मिहेनतअनुसारको फाइदा लिन सकिरहेका छैनन् ।

“मिहेनत गरेर उत्पादन गरेका जुनार बिग्रिने डरले बिचौलियालाई सस्तोमा दिन बाध्य छौँ । आफैँले बजार लगेर बेच्न पाए आम्दानी बढ्ने थियो, सडक राम्रो नभएकाले जुनार ढुवानी खर्च अत्याधिक महँगो पर्छ,” किसान मञ्जुकुमारी आलेमगरले गुनासो गर्नुभयो । खनियाखर्क–कमारेभञ्ज्याङ–तीनकन्या सडक चिसासानीसम्म मात्रै कालोपत्रे भएको छ । जुनार उत्पादनबाट किसानको आर्थिकस्तर माथि उठाउन सबैभन्दा पहिले कच्ची सडकको समस्या समाधान गर्नु पर्नेमा किसानहरूको जोड छ । जुनारमा लाग्ने रोगकिरा र सडक समस्याको समाधान गर्नका जिल्ला समन्वय समितिले चासो देखाएको छ । जुनार उत्पादित क्षेत्रको अनुगमन गर्न तीनकन्या पुग्नुभएकी उपप्रमुख शान्ता कार्कीले तीनै तहका सरकार र सरोकारवालाहरूसँग छलफल गरेर जुनार किसानका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘जुनार सुपरजोन’ कार्यक्रम कार्यान्वयन

जुनार उत्पादनमा देशकै अग्रणी मानिएको तीनकन्यालाई जुनारको राजधानीका रूपमा पहिचान स्थापित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई (जुनार सुपरजोन) कार्यक्रमले महत्त्वपूर्ण टेवा पुर्‍याएको छ । गोलञ्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ, कमलामाई नगरपालिका–३ जलकन्या र तीनपाटन गाउँपालिका–१ तोश्रामखोला जुनार सुपरजोनका क्षेत्र हुन् । जुनार सुपरजोन कार्यक्रम कार्यान्वयन भएका यी आठ वटा वडामा जुनार बढाउने, बचाउने र जुनारको बजारीकरण गर्ने कार्यमा कार्यक्रमले किसानलाई सघाउँदै आएको छ ।

जुनार सुपरजोन सिन्धुलीका प्रमुख यमकुमार श्रेष्ठका अनुसार जुनार सुपरजोन कार्यक्रमले यस क्षेत्रमा हालसम्म २३७ हेक्टरमा जुनार बगैँचा विस्तार गरिसकेको छ । पन्ध्र वटा नर्सरीमार्फत गुणस्तरीय जुनारको बिरुवा उत्पादन भइरहेको छ भने जुनारमा लाग्ने रोगकिरा नियन्त्रण, सिँचाइ व्यवस्थामा निरन्तर प्राविधिक सहयोग गर्दै आएको छ । जुनारको भण्डारणका लागि १४ वटा शीतभण्डार निर्माण गरिएको छ । “किसानले मङ्सिर–माघसम्म शीतभण्डारमा जुनार भण्डारण गरेर वैशाखमा दोब्बर मूल्यमा बिक्री गर्न पाउँदा उनीहरूको आम्दानीमा उल्लेख्य सुधार भएको छ,” सुपरजोन कार्यक्रमका प्रमुख श्रेष्ठले भन्नुभयो ।

जुनारको बजारीकरणलाई थप प्रभावकारी बनाउन जुस, वाइन, जामजेली र जुनारको पातको चियालगायतका प्रशोधित परिकार उत्पादनका लागि सम्भावना अध्ययन भइरहेको उहाँले बताउनुभयो । स्थानीय होटलहरूमा जुनारका विभिन्न परिकार बिक्री गर्ने व्यवस्था मिलाइने छ । साथै, जुनार प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गरेर पर्यटन विकासमा जोड दिइएको उहाँले सुनाउनुभयो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीको तथ्याङकअनुसार जिल्लामा हाल एक हजार ३१८ हेक्टरमा जुनार र सुन्तलाको खेती भइरहेको छ । यसमध्ये सात सय ९४ हेक्टरका बोटले उत्पादन दिइरहेको छ । जिल्लामा यस वर्ष ५२ करोड बराबरको जुनार, सुन्तला बिक्री हुने आँकलन छ । जिल्ला जुनारको हबका रूपमा विकासित हुँदा समृद्ध सिन्धुली निर्माणमा सहयोग पुग्ने मात्र नभई देशकै आर्थिक आम्दानी बढाउनसमेत योगदान पुग्ने देखिन्छ ।

 

 

जनकपुरमा जलाइयो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला

नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलपछि जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको कुटपिट तथा गरिएको दुर्व्यवहारको विरोधमा जनकपुरका युवाहरूले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका छन् ।

सोमबार जनकपुरका युवाहरूले भानुचोकमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुत्ला जलाएका हुन् । उनीहरूले गृहमन्त्रीविरूद्ध नाराबाजीसमेत गरेका थिए ।

शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो ।

कुटपिटपछि मधेशी आयोगलगातयमा उजुरी परेपछि प्रहरीले क्रिकेट मैदान बाहिर युवकमाथि कुटपिट गरेको घटनाबारे छानबिन थालेको छ ।

 

 

अहिले काँग्रेसमा विचलन छ- नेता कोइराला

नेपाली काँग्रेसका नेता डा‍। शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गर्नुभएको छ । सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले पार्टीमा विचलन रहेको बताउनुभएको हो । उहाँले आफूलाई ४०:६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरुको कुरा नसुनेपछि बाध्य भएको बताउनुभयो । सभापति शेरबहादुर देउवाले सबै नेताहरुको कुरा नसुन्दा चुप लागेर बस्न नसकेको उहाँको स्पष्टीकरण थियो ।

सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्ने जिकिर गर्नुभयो । उहाँले पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व। भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गटलाई फस्टाइदिने गतिविधि गर्नुभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, अहिले पार्टीमा वास्तवमा हामीको विचलन छ । स्वीकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०ः६० को भागबण्डा भनेर भन्नुभयो। मैले पहिले भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । उहाँले केही पनि सुन्दै नसुन्ने हो भने सभापतिजीले अनि त अफ्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्न जरुरी छ । त्यसलाई कसले म्यानेज गर्ने भन्दा किसुनजीकै अनुयायीहरुले हो ।

अहिलेको आदरणीय सभापति किसुनजीको एकदम अनुयायी रहेको बताउँदै गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँरो रहने उल्लेख गर्नुभयो । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरु भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । विपी, गणेशमान र अरु नेताहरु भएको के गर्नुहुन्थ्यो,उहाँले भन्नुभयो ।

नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एजेण्डा लिएर अघि बढ्नुभएको स्मरण गर्नुभयो । अग्रजहरुले देखाएको बाटोमा नेपाली काँग्रेस हिँड्नुपर्ने बताउनुभयो ।

 

 

रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन, डीपी अर्याल कार्यवाहक सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो ।

महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, “प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक ऐन बमोजिम थुनामा रहेकोमा थुनामा रहेको अवधिभर सो मुद्दाको किनारा नलागेसम्म निलम्बन भएको मानिनेछ ।”

लामिछानेविरुद्ध आइतवार मात्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् । रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आकस्मिक बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ ।

यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ भएको छ ।

 

जनकपुर बोल्ट्सको समर्थकहरु माथी अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकहरु माथी अभद्र व्यवहार गर्ने दुईजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो । सोहीक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

 

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड लगानी जुट्यो

देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपियाँ (५३ करोड ७० लाख अमेरिकी डलर) को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी) ले ३१ करोड १० लाख डलर (४२ अर्ब २४ करोड रुपियाँ) सहुलितपूर्ण ऋण र तीन करोड डलर (चार अर्ब सात करोड रुपियाँ) अनुदान उपलब्ध गराउनेछ ।

युरोपेली युनियनले दुई करोड २६ लाख डलर (तीन अर्ब ६ करोड रुपियाँ) र नर्वे सरकारले तीन करोड १० लाख डलर (चार अर्ब २१ करोड रुपियाँ) अनुदान दिनेछन् । यसैगरी, रणनीतिक जलवायु कोषमार्फत एक करोड डलर (एक अर्ब ३५ करोड रुपियाँ) सहायता प्राप्त हुनेछ । आयोजना कार्यान्वयन गर्न आवश्यक १३ करोड २४ लाख डलर (१७ अर्ब ९८ करोड रुपियाँ) नेपाल सरकारले बेहोर्नेछ ।

एडिबीको दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) विद्युत् प्रसारण र वितरण सुदृढीकरण परियोजनामार्फत कार्यान्वयन हुने आयोजनाहरुबाट मुख्य रुपमा २९० किलोमिटर प्रसारण लाइन, पाँच वटा नयाँ सबस्टेसन र दुईवटा सबस्टेसनको स्तरोन्नति गरिनेछ । साथै, काठमाडौं उपत्यकाका घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान (दोस्रो चरण), वितरण सबस्टेसनहरुलाई आधुनिक एवम् स्वचालित बनाउनमा कम्युटरमा आधारित सुपरिवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा) जडान, कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण लाइन निर्माण तथा वितरण प्रणालीको स्तरोन्नति गरिने छ ।

सहयता परिचालनका लागि गत शुक्रबार सरकार र एडिबी एवम् नेपाल विद्युत प्राधिकरणबिच सहुलितपूर्ण ऋण तथा अनुदान सम्झौता भइसकेको छ । योजनाहरु नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विकास साझेदारबाट प्राप्त स्रोत परिचालन गरी मुख्य रुपमा देशभित्रको विद्युत् आपूर्ति प्रणाली सुधार एवम् विस्तार, क्षेत्रीयरउपक्षेत्रीय विद्युत् व्यापारलाई भरपर्दो बनाउन मेरुदण्डका रुपमा आवश्यक पूर्वाधार संरचना निर्माण र वितरण प्रणाली डिजिटलाइजेसन गरिने बताउनुभयो ।

‘‘समय–समय विद्युत् गएको भन्ने उपभोक्ताहरुको गुनासोलाई सम्बोधन गर्न र पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिका लागि विगतका वर्षहरुबाट योजनाबद्ध रुपमा अगाडि बढाइएका पूर्वाधार संरचनाहरुको सुधार र सुदृढीकरणका कामहरु कार्यान्वयन गर्न ठुलो रकम जुटेको छ, अब योजनाहरु तत्काल कार्यान्वयनमा लगिनेछ ।,’’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले देशभित्रको बढ्दो मागअनुसारको विद्युत् आपूर्तिमा रहेको ग्रीड पूर्वाधारको सीमितता हटाउन र हरित ऊर्जा निर्यातको लक्ष्य पूरा गर्न सहायता सहयोगी हुने उल्लेख गर्नुभयो । निर्देशक कुश्वाले भन्नुभयो, ‘‘सहायता प्रसारण र वितरण गुरुयोजनाका मुख्य अभयवहरुमा खर्च हुनेछ, यसबाट जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रसारण गर्न एमम् अन्तरदेशीय विद्युत् व्यापार क्षमता बृद्धि गर्ने टेवा पुग्नेछ, कर्णाली र लुम्बिनी प्रदेशमा प्रसारण र वितरण पूर्वाधार विस्तार, सुधार, स्तरोन्नति एवम् पुनस्र्थापना हुनेछ, जसबाट विद्युतीकरण, ऊर्जा गरिबी कम गर्न, प्रदेशबीचको सामाजिक–आर्थिक असमानतालाई हटाउन सहयोग पुग्नेछ ।’’

सहायता परिचालन गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनदेखि रुपन्देही, कपिलवस्तु, अर्घाखाँची हुँदै दाङको लमहीसम्मको १६० किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । लमहीमा ‘ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस) प्रविधिमा आधारित ४०० केभीको स्वचालित सबस्टेसन निर्माण हुनेछ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २० करोड ३० लाख डलर खर्च हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल बुटवलबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि १३२ केभी लाइनमार्फत रहेकाले त्यस क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाह गर्न, त्यहाँको बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न र छिमेकी देशसँगको व्यापारलाई भरपर्दो बनाउन ४०० केभी लाइन तथा सबस्टेसन निर्माण गर्न लागिएको बताउनुभयो ।

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरिने छ । भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निजगढमा ४०० केभी सबस्टेसन निर्माण हुनेछ । निजगढबाट परवानीपुरसम्मको ४०० केभी लाइन र परवानीपुरमा ४०० केभी सबस्टेसन निर्माणका लागि एडिबीबाट प्राप्त हुने साढे आठ करोड डलर खर्च गरिनेछ ।

सन् २०५० सम्मको तीन हजार एक सय मेगावाट विद्युत माग धान्ने गरी काठमाडौं उपत्यकाको आपूर्तिलाई लक्षित गरी निर्माण गर्न लागिएको ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइन र तीनपिप्लेमा २२० केभी सबस्टेसन निर्माणमा ४ करोड रुपियाँ खर्च गरिनेछ ।

दैलेख–जुम्ला १३२ केभी प्रसारण लाइन र जुम्लामा १३२ केभी प्रसारण लाइन निर्माणमा साढे तीन करोड डलर खर्च हुनेछ । साथै, कर्णाली प्रदेशका जिल्लाहरुको विद्युत् वितरण प्रणालीको स्तरोन्नति गर्न दुई करोड ३० लाख डलर खर्च हुनेछ ।

 

काठमाडौँ महानगरपालिकाद्धारा १२ महिनामा १२ रोगको सचेतना अभियान

काठमाडौँ महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ। महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवर्द्धनको उद्देश्यसहित वार्षिक क्यालेन्डर प्रकाशित गरी महानगर भित्र १२ महिनामा १२ किसिमका नसर्ने रोगको सचेतना अभियान सञ्चालन गरेको हो।

महानगरका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले हरेक महिनालाई स्वास्थ्यको विशेष महिनाका रुपमा सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले सङ्घीय सरकारबाट मात्र नभई स्थानीय तहबाट पनि स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नका लागि अभियान सञ्चालन गरिएको बताए।

महानगरले मङ्सिरमा मात्रै उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ। महागरका मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार महागरका सबै वडामा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट करिब ३० हजार जनाको उच्च रक्तचाप, मधुमेह र मिर्गौला परीक्षण गरिएको छ।

महागरले पुस महिनालाई श्वासप्रश्वास सम्बन्धी रोग र सुर्तीजन्य पदार्थ विरुद्धको सचेतना महिना, माघलाई मादक पदार्थ तथा सडक दुर्घटना सचेतना महिना, फागुनलाई क्यान्सर तथा प्रजनन स्वास्थ्य सचेतना महिना, चैतलाई मानसिक स्वास्थ्य सचेतना महिनाका रुपमा अभियान सञ्चालन गर्दैछ।

यस्तै, वैशाखमा आँखा, जेठ मुख तथा नाक, कान र घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता सचेतना महिना, साउनमा नवजात र बालबालिका स्वास्थ्य पोषण तथा स्तनपान सचेतना महिनाका रुपमा अभियान सञ्चालन गर्न थालेको हो।

भदौमा उच्च रक्तचाप र असोजमा मधुमेहलाई समेटेर मङ्सिरमा मिर्गौला सहितको सचेतना अभियान सञ्चालन गरिएको छ। कात्तिक महिनामा स्वस्थकर खानपान तथा आरोग्य जीवन सचेतना अभियान सञ्चालन गरिएको थियो।

मेडिकल अधिकृत डा न्यौपानेले यस वर्षदेखि सुरु गरिएको अभियान दशैँ, तिहार र उपनिर्वाचनका कारणले समयमा नै सञ्चालन गर्न नसकिएको बताए। उनले अबदेखि हरेक वर्ष सचेतना अभियानलाई महाअभियानका रुपमा सञ्चालन गर्ने उल्लेख गरे।

रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर

जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दिउँसो अभियोगपत्र दर्ता गराएको हो ।

सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माले ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको जानकारी दिनुभयो । कास्की प्रहरीले गएको सोमबार सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको थियो ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाई र रामबहादुर खनाललाई सम्पत्ति शुद्धिकरण अभियोग लगाइएको छ । सहकारी ठगीमा ३१ जना नै प्रतिवादी छन् भने १९ जनाविरुद्ध सङ्गठित अपराध अभियोगसमेत लगाइएको छ ।

सूचना अधिकारी शर्माले कसुर अनुसार फरकफरक मागदाबी लिइएको जानकारी दिनुभयो । “सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरणसहित राष्ट्र बैक ऐनविरुद्धको कसूरमा समेत अभियोगपत्र दायर गरिएको छ,” शर्माले भन्नुभयो, “शुक्रबार थप अभियोगपत्र दर्ता गरेका थियौँ, आज पूरक अभियोगपत्र दर्ता गरेका हौँ ।”

अभियोगपत्रमा विधाराधीन मुद्दामा थप मागदावी, थप कसूरहरु प्रष्ट उल्लेख गरिएको र सबैगरी ६३ जना प्रतिवादी कायम भएको उहाँको भनाइ छ । सम्पत्ति शुद्धिकरणमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपियाँको मागदाबी लिइएको छ । जोशीविरुद्ध भने ७४ करोड ३४ लाख सात हजार एक सय ५५ रुपियाँ बिगो कायम गरिएको छ ।

प्रतिवादीहरुविरुद्ध सहकारी ठगीमा चारदेखि ६ वर्षसम्म कैद, सङ्गठित अपराधमा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद हुनुपर्ने मागदावी लिइएको छ । कास्की प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि पुस १ गते सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको थियो ।

अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो मागदाबी लिइएको छ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले म्यानुअल्ली र सिस्टम दुवैमा दर्ता गर्नुपर्ने भएकाले आइतबार कार्यालय समयभित्र अभियोगपत्र दर्ता सकिने उल्लेख गर्नुभयो ।

“दर्ता प्रक्रिया सकिँदै छ । हामी मिसिल अध्ययनमै छौं,” अधिकारीले भन्नुभयो, “भोलिबाट प्रतिवादीहरुको बयान सुरु हुन्छ । बयान सकिएपछि थुनछेक बहस आरम्भ हुन्छ ।”

 

 

 

विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ- सभामुख घिमिरे

सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाद्वारा यहाँ आयोजित दुईदिने ‘प्रतिनिधिसभाको बैठक सञ्चालन र व्यवस्थापनमा सचिवालय’ विषयक संसदीय पदाधिकारीहरुबीचको समीक्षात्मक कार्यक्रमको आज समापनका अवसरमा उहाँले लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरोकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

“समितिका पदाधिकारी एवं सदस्यलाई कडाइकासाथ बोलाउनुस्, त्यसपछि पनि आउनुभएन भने स्पष्टीकरण सोध्नुस् भनेको छु”, सभामुख घिमिरेले भन्नुभयो, “यो स्पष्टीकरण सोध्ने विषय पनि कार्यान्वयन भइरहेको छैन, सबै मिलेर के कसरी हुन्छ स्पष्टीकरण सोध्ने वातावरण मिलानुपर्छ ।” उहाँले विधेयक समितिका लागि संसद् सचिवालयले गर्नुपर्ने आवश्यक प्रक्रिया गर्दै आए पनि प्रभावकारिता नदेखिएको गुनासो गर्नुभयो ।

सभामुख घिमिरेले हालको व्यवस्थाअनुसार तीन पटक विधेयक समितिको बैठक बोलाउँदा कोरम नपुगेपछि फेरि बोलाउँदा दुई वटासम्म पनि कोरम नपुगे तेस्रो बैठक एक तिहाईको उपस्थितिमा बैठक गराउन आफूले ध्यानाकृष्ट गराएको उल्लेख गर्नुभयो । “व्यवस्थाअनुसारको बैठक बसाल्नेतर्फ सबैले प्रयत्न गरौँ, समस्या समाधान हुँदै जानेछ”, उहाँले भन्नुभयो । विधेयक समिति प्रभावकारी रुपमा चलायमान गराउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उहाँको तर्क थियो ।

सभामुख घिमिरेले सदन सञ्चालनका समयमा दिनको अन्तिम समयमा अध्यादेश दर्ता गर्ने हिसाबले मात्रै आउने गरेकोसमेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्सँग समन्वय नगरी अध्यादेश दर्ता गर्ने हिसाबले मात्रै आउँदा समस्या सिर्जना भएका छन्, यसमा पनि सबैको ध्यान जानु आवश्यक देखिन्छ ।” संसद्लाई गतिशील र प्रभावकारी बनाउन सबै दल र समितिको उत्तिकै दायित्व रहेको उहाँको धारणा थियो ।

सभामुख घिमिरेले आफूलाई दिएको अधिकार प्रयोग गर्नेतर्फ पनि निकै कठिनाइ भएको दुःखेसो पोख्नुभयो । “सभामुखले निर्णय गरे पनि निर्णय कार्यान्वयन हुने वातावरण तयार हुनुप¥यो, यसको निकै अभाव छ”, उहाँले भन्नुभयो । दलीय आधारमा सल्लाह गर्ने, सुझाव लिने, त्यस अनुसार सांसदलाई तयारी गर्ने, क्यालेन्डर तय गरी सोहीअनुसार कार्य सम्पन्न गर्नेतर्फ सरकार र संसदले त्यत्तिकै जिम्मेवार बोध गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसअवसरमा उपसभामुख इन्दिरा रानाले संसद्लाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दोस्रो सङ्घीय संसद् प्रभावकारी ढङ्गले सञ्चालन गरी सम्पन्न गर्नुपर्ने दायित्व छ, यसका लागि सरकार, राजनीतिक दल, सांसद तथा संसद् सचिवालयले आआफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका खेल्नुपर्छ, यसका लागि हामी अपेक्षाकृत छौँ ।”